२०७८ मंसिर ११ , शनिवार

फाइजरको बुस्टर डोज कोरोनामाथि ९५.६ प्रतिशत प्रभावकारी

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी कम्पनी फाइजर–बायोएनटेकको कोरोनो भ्याक्सिनको बुस्टर डोजले संक्रमणबाट ९५.६ प्रतिशत सुरक्षा प्रदान गर्दछ । कम्पनीले १६ वर्ष माथिका १० हजार व्यक्तिमाथि ११ महिनासम्म गरिएको ट्रायलको जानकारी बिहिबार जारी गरेको छ । यसमा पत्ता लागेअनुसार फाइजर भ्याक्सिनको दोस्रो डोज लिएपछि ८४ प्रतिशतसम्मको र तेस्रो (बुस्टर) डोज लिएपछि संक्रमणबाट ९५.६ प्रतिशतसम्म बचाउन सकिन्छ ।

कम्पनीका अनुसार जब डेल्टा भेरियन्ट संसारमा तीब्र रुपमा फैलिरहेको थियो, त्यतिबेला मानिसहरुमाथि ट्रायल गरिएको थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोर्लाले ट्रायलको नतिजामार्फत् बुस्टर डोज लिएपछि संक्रमणबाट राम्रो तरिकाले सुरक्षित हुन सकिने पत्ता लागेको बताएका छन् ।

कम्पनीले ट्रायलको सुरुवाती डाटा यथाशीघ्र नियामक एजेन्सीसँग साझा गरिने बताएको छ । स्मरण रहोस्, थुप्रै देशले आफ्ना नागरिकको प्रतिरोधी क्षमता बढाउनका लागि कोरोना भ्याक्सिनको बुस्टर डोज लगाउन सुरु गरिसकेका छन् ।