२०७८ मंसिर ११ , शनिवार

फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने, कस कसलाई लगाउँदै छ यो खोप ?

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत १ लाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने छ ।

 

यो खोप कसले पाउँछन् ?

सरकारले विशेषतः १२ वर्षभन्दा माथि उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी यो खोप ल्याउन लागेको हो । तर सोमबार आइपुग्ने खोपको मात्रा कम भएकाले १२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ । दीर्घ रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यस्ता व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिएको दाहालले बताए ।

यो खोप माइनस ८० डिग्री तापक्रममा भन्डारण गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई केन्द्रीय खोप भण्डारणमा राख्ने व्यवस्था मिलाइएको दाहालले जानकारी दिए ।

खोप कार्यक्रम सञ्चालनका लागि केन्द्रीय खोप भण्डारणबाट २ देखि ८ डिग्री तापक्रममा खोप पठाउन सकिने र ३१ दिनभित्र उक्त खोप प्रयोग गरिसक्नुपर्ने उनको भनाइ छ ।

हालसम्मका परीक्षण अनुसार खोप लगाएका १२ देखि १५ वर्षका बालबालिकामा खोप लगाएको ठाउँमा पीडा हुने,थकान हुने, टाउको दुख्ने, शरीर चिसो हुने, मांशपेशीमा पीडा हुने, ज्वरो आउने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट देखिएका छन् ।