२०७८ मंसिर ११ , शनिवार

“बडा दसैँ”

सुनाखरी न्युज/ काठमाडौँ –
✍️

लिई उमङ्ग साथमा हिमालझैँ खुलोस् दसैँ
गुलाफका थुँगा बनी बगानमा फुलोस् दसैँ ।
बनेर दीनका दशा नहोस् कतै खडा दसैँ
मुहारमा खुसी भरी सवार होस् बडा दसैँ ।।१।

अभावको चुलो बलोस् लिएर अन्न झुल्कियोस्
टिको बनोस् प्रदीप्त भै टल्लल माथ टल्कियोस् ।
सदैव शुद्धता थपी पवित्र होस् घडा दसैँ
मुहारमा खुसी भरी सवार होस् बडा दसैँ ।।२।

बनेर वस्त्र लाजको शरीरमा भुलोस् दसैँ
छ भोक रोग त्यो जहाँ निदान भै पुगोस् दसैँ ।
तँ पाइला दरो बना र लक्ष्यमा बढा दसैँ
मुहारमा खुसी भरी सवार होस् बडा दसैँ ।।३।

जुवा र तास शत्रु हुन् नहोस् ममा कुनै लत
नहोस् भविष्य व्यर्थमा विनासतर्फ उद्दत ।
गरेर पान सोमको न भन्छु नशा चढा दसैँ
मुहारमा खुसी भरी सवार होस् बडा दसैँ ।।४।

परम्परा छ धान्नु यो हुँदैन भुल्नु मान्यता
जहाँ कला त्यहीँ भला हुनेछ नत्र शून्यता ।
छ नाश गर्नु शत्रुको उठा नचा फणा दसैँ
मुहारमा खुसी भरी सवार होस् बडा दसैँ ।।५।

-उत्तम विचार ।
छन्द : पञ्चचामार ।