२०७८ कार्तिक ६ , शनिवार

माग कम भएपछि खसीबोकाको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौँ —

माग कम भएपछि खसीबोकाको मूल्य घटेको छ । बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य किलोमा २० रुपैयाँ घटाएका छन् ।

स्वदेशी उत्पादनसँगै भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी संघ कलंकीले मगलबार किलोमा २० रुपैयाँ घटाएको जनाएको छ । उपत्यका भित्रिने क्रम अझै जारी नै छ । जसले गर्दा मूल्य घटेको संघले जनाएको छ ।

संघका अनुसार सोमबारसम्म कलंकी बजारमा स्वदेशी खसीबोका प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार प्रतिकिलो ६ सय ५० रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भएको छ । भारतीय खसीबोका प्रतिकिलो ७ सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार भने प्रतिकिलो ६ सय ८० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री भएको जनाएको छ ।

 

दसैंका लागि खसीबोका मुख्यतः फूलपाती, अष्टमी र नवमीमा बिक्री हुन्छ । गत वर्ष दसैंमा मात्रै ४५ देखि ५० हजार खसीबोका बिक्री भएको थियो । उक्त खसीबोका प्रतिकिलो ६ सय ६० देखि ६ सय ७० रुपैयाँमा बिक्री भएको थियो । माग बढ्दै गर्दा किलोको ८ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले भने दसैंमै मूल्य घटाएका हुन् ।

 

च्याङ्ग्राको हकमा भने अचाक्ली महँगो भएको छ । चीनबाट च्याङ्ग्रा आयात नहुँदा बिचौलियले मूल्य अति नै बढाएका छन् । व्यवसायीका अनुसार किसान र उपभोक्तासम्म आइपुग्दा तीन तह पार गर्नुपर्छ । जसले गर्दा मूल्य बढेको हो । चीनबाट आयात नहुँदा एउटै च्याङ्ग्राको मूल्य ३८ हजारदेखि ४० हजार रुपैयाँ परेको संघले जनाएको छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साढे १९ सय खसीबोका बिक्री गरेको छ । हस्तक्षेप गर्न भन्दै सहुलियतमा बिक्री सुरु गरेको खाद्यले तीन दिनमा १९ सय ४९ खसीबोका बिक्री गरेको हो । ‘यस वर्ष २ हजार खसीबोका खरिद र बिक्री गर्ने लक्ष्य राखेको थियो । मंगलबार १ बजेसम्म १९ सय ४९ खसीबोका बिक्री भइसकेको छ,’ कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘अब ४० वटा मात्रै बाँकी छन् । मंगलबार बेलुकी नभए बुधबार बिहानसम्म सबै सकिन्छ ।’ खाद्यले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ ।