२०७८ कार्तिक ६ , शनिवार

दशैंको अवसरमा ५० अर्बका नयाँ नोट साटिए, बजारमा ७ खर्ब २५ अर्ब रूपैयाँ

New Note

सुनाखरी न्युज/ काठमाडौँ —

दशैंको अवसरमा  यस वर्ष ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट सटही  भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एक-एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

बर्सेनि दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले यसको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । फलतः खर्च गर्ने प्रवृत्ति पनि बढ्छ ।

धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै थियो । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ ।