२०७८ कार्तिक ६ , शनिवार

महानायकका गुणलाई बिउँताउने आर्टमाण्डुको नौलो प्रस्तुती – “बिनायो भाकैले”

सुनाखरी न्युज/ काठमाडौं – महानायक को हो भन्ने विवाद अहिले उत्कर्षमा छ । तर पुराना नेपाली सिनेमाहरुमा हिरोले देखाउने कर्तव्य , फाइट, नाच वा गाउने गीतहरु हेर्दा पर्दामा जो देखिन्थ्यो उही महानायक लाग्थ्यो । तसर्थ महानायक सम्बन्धी विवादलाई एकछिनको लागि थाति राखेर विचार गर्ने हो भने महानायकका विशेष गुणहरु सबैको आँखामा झलझली आउँछन। र यी यादहरुले जो कोहीलाई पनि ९०को दशकको नेपाली सिनेमा घर, वा अझ भनौं चलचित्र मन्दिर, सम्म पुर्याउँछन् । नेपाली सिनेमाको यहि यादगार कोशेलीलाई फेरी एक-पटक पर्दामा बिउँताउने जमर्को आर्टमाण्डुले गरेको छ।

 

भर्खरै सार्वजनिक भएको ‘विनायो भाकैले’ बोलको लोक जस्तै लाग्ने आधुनिक गीतमा अहिलेको समयको लोकप्रीय म्युजिक कम्पनी आर्टमाण्डुले नौलो प्रयोग गर्ने कोशिश गरेको छ । अंकित बाबु अधिकारीले संगीत दिएको र अधिकारी स्वयं र गायिका सुनिता थेगिमको स्वर रहेको यस गीतले श्रोतालाई नाचूँ-नाचूँ लाग्ने त बनाउँछ नै । त्यसका अलावा नव-लेखिका सुष्मा सिग्देलको मौलिक लेखन-शैली पनि उत्तिकै जोडदार लाग्छ। साथ-साथै गीतको भिडियो हेर्दा लाग्छ कुनै पुरानो नेपाली सिनेमाबाट मौलिक नेपाली सुगन्ध अहिलेको समयमा एउटा ठुलो छलांग मारेर आइपुगेको छ ।

गीतको भिडियोमा एउटा गाउँले मेला र त्यसमा हुने नाच-गानलाई प्रस्तुत गरिएको छ । मुख्य अभिनेतामा विजु पार्की र कविता नेपालीले मनै लोभ्याउने नृत्य प्रस्तुत गर्छन, र साथ्-साथै अन्य अभिनेताहरु — सम्रान्त थापा, सेबिता अधिकारी, काजी राना, अन्वेष थुलुङ्ग, सुजन भट्टराई — लगायतले पनि ग्रामिण परिवेशको रमाइलोलाई दुरुस्त उतारेका छन् ।

गीतको संगीत संयोजन रिकेश गुरुङ “किज” ले गरेका हुन् भने रेकर्डिङ्ग शार्दुल श्रेष्ठ र सुजन भट्टराईले आर्ट्माण्डूकै स्टुडियोमा गरेका हुन् । गीतको मिक्सिंग कोबिद बज्रले गरेका हुन् । गीतमा विजय राई, विकाश लिम्बु, ममता गुरुङ र विज्ञानी पराजुलीको पनि स्वर सुन्न सकिन्छ । अभिनयमा पनि विकास बलामी, स्वेता के.सी., अस्मी भुजेल र विशाल गुरहूलाई पाउन सकिन्छ।

भिडियोलाई पुरानो जस्तो लाग्न निकै मिहेनत गरेको देखिन्छ। भिडियोलाई अहिलेका चर्चित छायाँकार सुसन प्रजापतिले खिचेका हुन् भने , यसको सम्पादन कृष्ण भण्डारीले गरेका हुन्। अवधारणा एवं पटकथा अन्वेश राई थुलुङ्गको रहेको छ भने। यस गीतलाई लाहुरे सिंह र बिजु पार्कीले कोरियोग्राफ गरेका छन्

पुरा गीत यस लिंकमा हेर्न सकिन्छ ।