२०७८ कार्तिक ६ , शनिवार

आन्तरिक राजस्वका महानिर्देशकसँग निकासी पैठारी संघको भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौं – नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले सोमबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग उहाँकै कार्यकक्षमा भेटवार्ता गरेको छ ।

 

संघका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले सरकारले उद्यमी, व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्ष जनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यान दिन आग्रह गरेको छ । सो अवसरमा प्रतिनिधिमण्डलका सदस्यले घरबहाल करको दर १० बाट ५ प्रतिशत कायम गर्न तथा ड्यामेज भएका वस्तु नष्ट गरेको अनुगमन गरी प्रमाणित गर्ने छुट्टै निकायको आवश्यकतामा पनि जोड दिनुभयो । सीमा क्षेत्रबाट भइरहेको मदिरा चोरी पैठारीले ठूलो राजस्व गुमिरहेको र त्यसबाट कानुनी रुपमा ती वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई अप्ठेरो परेको विषयमा पनि महानिर्देशक पौडेलको ध्यानाकर्षण गराइयो ।

 

जवाफमा महानिर्देशक पौडेले संघले उठाएका जायज विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले १.५ प्रतिशत राजस्व तिरेर मिसम्याचको समाधान गर्न पाइने स्किम सरकारले ल्याएको भन्दै त्यसबाट लाभान्वित हुन व्यवसायीलाई आग्रह गर्नुभयो । त्यसैगरी, कम्पनी रजिस्ट्रारको कार्यालयमा लामो समयदेखि विवरण नबुझाएर नवीकरण नभएका कम्पनीहरुलाई यसअघि जरिवानाको १० प्रतिशत राजस्व बुझाएर नवीकरण गर्न समय दिइएकोमा अहिले त्यसलाई पनि घटाएर ५ प्रतिशत कायम गरेको जानकारी दिँदै सोको फाइदा लिन पनि उहाँले आग्रह गर्नुभयो ।