२०७८ कार्तिक ६ , शनिवार

विराटनगर उडेको जहाजमा समस्या, २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

सुनाखरी न्युज/ काठमाडौं ।

दुई घण्टासम्म आकाशमा  फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।

 

काठमाडौंबाट आज बिहान  विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

 

 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।

 

 

 

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

 

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

 

 

 

जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’

 

जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ । सो जहाजमा ७० भन्दा बढी यात्रु थिए ।

यो जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए ।

 

त्यस्तै काठमाडौंको टावरबाट बुद्ध एयरका क्याप्टेन र इन्जिनियरले दूरबिनबाट जहाजको ल्यान्डिङ गियर खुलेरनखुलेको हेरेका थिए । दूरबिनबाट गियर खुलेको देखिएपछि जहाजका चालकलाई अवतरण गर्न सल्लाह दिइएको थियो । आकस्मिक अवतरण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्धन घटाउन जहाजले काठमाडौंमा धेरै पटक फन्को लगाएको थियो ।

साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई ‘एसुरेन्स ल्यान्डिङ’ भएको बुद्ध एयरले जनाएको छ । टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए ।

 

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयर आजको घटनाको छानबिनका लागि समिति बनाउने भएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ । त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन गर्नेछ ।

तस्बिर : क्याप्टेन विवेक खड्का