२०७८ कार्तिक ६ , शनिवार

“प्यारा उनै माधव”

सुनाखरी न्युज/ काठमाडौं –

छन्द : शार्दूलविक्रीडित ।
✍️
तिम्रो जन्म भयो यही मुलुकमा उम्दा छ अग्लो छवि
भाषा सेवक भै छर्‍यौ कविकला हौ राष्ट्रका हे कवि ।
माटो भर्दछ गीतमा लय मिठो सुन्दै बडो गौरव
यस्ता साधाक हुन् अमूल्य गहना प्यारा उनै माधव ।।१।

थुप्रै काव्य थुँगा उन्यौ कुसुमका साहित्य उन्मादले
पायो सार्थकता दियौ पन नयाँ स्वच्छन्दता वादले ।
गौरी होस् नव मञ्जरी सरसिलो राजेश्वरी वास्तव
चर्चा चारु गरी रहे अथक भै प्यारा उनै माधव ।।२।

देख्यौ प्यार यतै विछोड कतिका छोड्दै गयो रङ्गले
पस्क्यौ नाटक रङ्गमञ्च सजियो भो मालती मङ्गले ।
तिम्रो नाम लिँदै सहर्ष मनमा होस् पर्वझैँ उत्सव
बाँचून् दिव्य हजार साल भवमा प्यारा उनै माधव ।।३।

पाखा बोल्दछ सिर्जनामय बनी बोल्छन् पखेराहरू
पक्षी डुल्छ तिनै सुरम्य लयमा डुल्छन् बचेराहरू ।
उम्दा भाव छर्‍यौ उदाहरण भै पार्‍यौ सबै सम्भव
नेपाली मनमा विराजित रहुन् प्यारा उनै माधव ।।४।

पस्क्यौ छन्द कला नवीन लयमा शास्त्रीय सिद्धान्तमा
लेख्दा हुन्न र के न छेक्छ वयले लेख्दै थियौ अन्तमा ।
झर्छन् पात वसन्त आगमनमा फेर्छन् नयाँ पल्लव
यौटै चाह छ यो बसून् हृदयमा प्यारा उनै माधव ।।५।

नाम -उत्तम विचार ।