२०७८ कार्तिक ६ , शनिवार

ईपीएल: काठमाडौं किंग्सको ललितपुरमाथि शानदार विजय

सुनाखरी न्युज/ काठमाडौं-

काठमाडौं किंग्स ११ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो दिनको खेलमा शनिबार लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ ।

अफगानिस्तानका गुर्बाजले ३६ बलमा ५९ र बर्लले ३४ बलमा ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १५ ओभर भित्र १ सय ६० रन बनाउदै पुरा गर्‍यो ।

बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । अर्का अविजित ब्याटर राजु रिजालले १३ बलमा २ चौकासहित १९ रन बनाए ।

सुवास खकुरेल आफूले सामना गरेको पहिलो बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुर्बाज र बर्ल ललितपुरका बलरमाथि जाइलागेका थिए । गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गरे । उनलाई पवन सर्राफले स्टम्प आउट गराए ।

 

यसअघि पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई रन १ सय ५७ बनाएको थियो ।

४० बलमा अर्धशतक बनाएका पवनले कूल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । साविक विजेता ललितपुरको सुरुआत निकै दयनीय भएको थियो ।