२०७८ कार्तिक ६ , शनिवार

बालबालिकाका लागि एक लाख डोज कोरोना खोप दशैं अगाडि नै आउँदै, कस्ले पाउनेछ शुरुमा लगाउन ?

सुनाखरी न्युज/ काठमाडौं
बालबालिकाका लागि एक लाख डोज कोरोना खोप दशैं अगाडि नै आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउन मिल्ने एक लाख डोज कोरोना खोप ल्याउन लागेको बताए ।

चितवनमा आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले शुक्रबार दसैंअगाडि नै उक्त खोप आइपुग्ने जनाए। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले बालबालिकालाई लगाउन मिल्ने फाइजरु खोप छिट्टै आइपुग्ने जानकारी दिए। ‘मन्त्रीज्यूले भन्नुभएको कुरा ठिक हो। बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६२० डोज खोप छिट्टै नै आउँदैछ,’ दाहालले भने।

बालबालिकाका लागि आउने भनिएको यो खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई लगाउने सरकारको तयारी छ। तर सुरूमा एक लाख डोज खोप आउने भएकाले कस्ता बालबालिकाले सुरूमा उक्त खोप पाउने भनेर टुंगो भइसकेको छैन। यद्यपि जोखिम समूहमा रहेका बालबालिकालाई पहिलो प्राथमिकता दिइने डा. ढकालले बताए।