२०७८ आश्विन १२ , मंगलबार

नेकपा एकिकृत समाजवादी रोज्‍न चाहेका एमाले सांसद पाण्डे र भट्टलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश

SC

सुनाखरी न्युज/ काठमाडौँ —

सर्वोच्च अदालतले एमाले सांसद्हरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कारबाही नगर्न आदेश दिएको छ । दुवै जनाले सर्वोच्च अदालतमा निवेदन दिएर आफूहरूले एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) दल रोज्न पाउनुपर्ने माग गरेका छन् ।

सुरुमा निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी निवेदन दिन छुटेका पाण्डे र भट्टले सनाखत गर्ने समयमा आयोग पुगेर आफूहरूले पनि नयाँ पार्टीमा आबद्ध हुन पाउनुपर्ने माग गरेका थिए । तर, निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका हुन् ।

 

आइतबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेकी छन् । दुवै सांसद्हरूले आफूहरूमाथि कुनै कारबाही गर्न नमिल्ने आदेश दिनसमेत माग गरेका थिए । न्यायाधीश खड्काले भदौ २९ गतेसम्मलाई उनीहरूमाथि कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएकी छन् र उक्त दिन दुवै पक्षलाई छलफलमा डाकेकी छन् ।

सर्वोच्च अदालतले २९ गतेको सुनुवाइबाट अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ ।