२०७८ कार्तिक ४ , बिहिवार

पितृसम्मान दिवसमा/ बाहरुको सम्झना

सुबाश न्यौपाने – आज भाद्र महिना कृष्ण पक्षको औँसि तिथि, बाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस । कर्म दिने पिता या बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिन । आज पिता जिवित हुनेहरुले आफ्ना पितालाई थरिथरिका मेवा मिस्ठान्न र अनेक स्वादिला परिकारहरु भोजन गराउँछन र यथासक्य उपहारहरु दिन्छन भने बा बितिसकेकाहरुले परलोक भैसकेका पितादि अन्य पितृहरुको सम्झनामा गोकर्ण आदि तिर्थहरुमा विधिपुर्वक जल र पिन्डदान गर्ने गर्छन ।

 

हुनत जाय जन्म दिएर सक्षम बनाउने माता पितालाई तिथी विशेषमा सम्झिएर अनि पर्व विशेषमा आराधना गरेर मात्रै नहुने हो तथापि व्यस्त समयको दौडधुपको बाबजुद पनि मातापिताको सेवामा खट्न सिकाउने यि र यस्ता ऐतिहासिक पर्वहरुको विशिष्ट महत्व रहेको छ । आजको यस पावन दिनमा ति तमाम पिताहरुमा नमन गर्दै बाहरुको त्याग, समर्पण, लगानि, मिहेनत र महानता, वावुहरुको विवशता, वुवाहरुको विरह, ड्याडिहरुको दैनिकि अनि बाबुहरुको ब्यथाको चर्चा गरौँ ।

बा शब्द उच्चारण गर्न सजिलो छ त्यसैले तोते बोलिसंगै बोल्न सुरु गरिन्छ बा तर सुन्नमा जति छोटो र बोल्न जति सरल छ त्यति सहज छैन बा बन्न । आफुलाइ बिर्सिनुपर्छ बा बन्न, जिन्दगिभर असाध्य जिम्मेवारिको बोझ उठाउन सक्नुपर्छ बा हुन । आफ्नो तमाम इच्छ्या, आकाँक्षा, चाहना र सपना लाई तिलान्जलि दिएर बाँचुन्जेल सन्तानको लागि जिउनुपर्छ एक असल बा बन्न । कर्मदाता बा या पिताहरु सन्तानलाई पालन पोषण गरि शिक्षा दिक्षा दिलाई बाटो देखाउने मानवरुपि भगवान हुन । सन्तान जन्मनलाई विर्यदान गरेको क्षणबाट आफ्नो प्राण पर्यन्त सन्तानको पिर र चिन्ता अनि सन्तानकै सुख, सुविधा, हित र उन्नतिको लागि जिवन बिताउन सक्ने उदारता बाहरुमा मात्रै हुन्छ ।

 

त्यसो त “पिता” शब्दको उत्पतिनै पालन, पोषण र जिम्मेवारी सँग जोडिएको छ । चलन चल्तिमा भनिन्छ “पाति रक्षति इति पिता” । मूल धातु “पा” जस्को अर्थ हुन्छ पालन गर्नु, रक्षा गर्नु । अर्थात जस्ले पालन गर्छ उहि नै पिता हो । “पिता” शब्दको मुल अर्थ रक्षा गर्नु सँगै जोडिएको छ । प्राकृत सन्तान होस या दत्तक, पालन गर्ने, खानलाउन दिने, हेरचाह गर्ने, रक्षा गर्ने ब्यक्तिनै पिता हो । ऋग्वेदको अत्यन्त नजिक मानिएको ग्रन्थ एवेष्टामा पाको अर्थ पोषण गर्नु भनिएको छ । यसै “पा” बाट पिता शब्दको उत्पति भएको हुनुपर्छ । अन्य भाषाहरुमा पनि पातरम्, पिथ्रि, पिटर, फादर, पता, पाता आदि शब्दको अर्थ हुन्छ- रक्षा गर्नु, पालन गर्नु र यि सबै शब्दहरुले पितालाई नै इँगित गर्छन । सबै पिताहरुको मुलभुत दायित्व एउटै हो पालन पोषण गर्ने तर समाजमा सबै बाहरुको स्तर र अवस्था एकनास छैन । फरकफरक स्तर, तह र तप्काका छन बाहरु पनि । कोहि बालाई पिताजि पुकार्छन, कोहि वुबा भन्छन, केहिले बाउ भनेर बोलाउछन त नयाँपुस्ता ड्याडि र बाबा भन्छन । तर जसरि सम्बोधन गरे पनि बा बा नै हुन । पालन र रक्षा गर्ने भगवान अनि कर्मदाता इश्वर ।

 

यसो त परापुर्व कालमा रचना गरिएका वेद पुराण र अनेकन शास्त्रहरुमा मानव जिवनमा पिताको सर्वोपरि महत्वलाई यथेष्ट चर्चा गरिएको छ । पद्मपुराणमा एउटा सुन्दर श्लोक छ : “पिता स्वर्ग पिता धर्म पिताहि परमं तप: । पितरि प्रितिमापन्ने प्रियन्ते सर्वदेवता: ।” अर्थात पिता स्वर्ग हुन पिता धर्म हुन र पितानै सबैभन्दा ठुला तप पनि हुन । आफ्ना पितालाई प्रेम गर्न सके सम्पुर्ण देवी देवता प्रसन्न हुन्छन । शास्त्र, साहित्य र दर्शनहरुमा पितालाई आकाश सँग तुलना गरिएको पाइन्छ । जस्ले बाँचुन्जेल आफ्ना सन्तानलाई छहारी दिइरहन्छन । आमाको छाति र बाको काख जतिको सुरक्षित स्थान सन्तानलाई अरु कहाँ हुन सक्छ र? त्यसैले त नेपालि समाजमा यौटा लोकोक्ति छ – आमाको होटेलमा खाएर बाको लजमा सुत्न पाउँदा सम्म केको पिर केको चिन्ता । “पराई इष्ट र बाउ दुष्ट हुँदैनन”, “बाउ बिनाको टुहुरो”, “ऋण लगाइदिने बाउ हुनु भन्दा नहुन बेस” यि र यस्तै उखानहरुले एकातिर पिताको महत्व दर्साउँछन भने अर्कातिर पिताले निर्वाह गर्नु पर्ने अहम भुमिकालाई ।

 

नौ महिना सम्म गर्भमा बोकेर जन्माई, हुर्काउन आमाहरुले जति दुख, पिडा भोग्छन त्यो भन्दा कैयौँ गुणा बढि हन्डर बाहरुले पाएका हुन्छन । तर आमाहरुको जति चर्चा बाहरुको हुन सकेन । बाहरुले खाएका ठक्कर, पाएका पिडा, खपेका वेदना, भोगेका बेथा, बगाएका पसिना, लुकाएका आँसु, दबाएका सपना, मारेका इच्छा, बिर्सिएका सपनाको कहिल्यै बयान हुन सकेन । यदाकदा आफ्नो पिडा लुकाउन नसकेर आमाहरु रुनुहुन्थ्यो तर बाहरुले यो सुबिधा कहिल्यै पाउनुभएन । कति दुखे होलान ति घाउहरु, कति पोले होलान ति छातिहरु तर पनि किँचित पिडा पोख्न पाउनुभएन, न शिरको बोझ पन्छाउन पाउनु भयो, न घाम भनेर सुख पाउनु भयो, न हुरि बतास भनेर बिश्राम पाउनुभयो । के दिन, के रात, न साँझ, न बिहान, के गर्मि, के जाडो, न चाड न पर्व । केहि नभनि अनवरत दुख गरिरहनु भयो त्यो पनि आफ्नो लागि हैन सन्तानको लागि । बा तपाई साँच्चै महान हुनुहुन्छ ।

 

यथेष्ट जग्गा जमिन र सम्पति भएको घरको सन्तान भइ जन्मिएर, उचित शिक्षा पाई सहज नोकरी या ब्यबसाय सम्हालेका उच्च बर्गिय बाहरु बाहेक तपाई हामि अधिकांश निम्न मध्यम बर्गिय आर्थिक हैसियतका परिवारका बाहरुले बाँकि बाहरुको तुलनामा झनै बढि दुख कष्ट सहेका छन । ति पहिलो प्रकारका बाहरुले राम्रो कमाए, टन्न जमाए, ड्याडि र पापाको दर्जा पाए, गाडि चढे, घर घडेरि जोडे, तर दोस्रो प्रकारका तपाई हामि अधिकांशका 50 कटेका बाहरु गाउँमा जन्मिए, आमाले घाँस काट्दाकाट्दै, गोवर फाल्दाफाल्दै । जन्मिएका कति बाहरु कलिलैमा कालले लगिए, बाँचेका मध्ये पनि थोरैले मात्रै राम्रो स्याहार सुसार, पौष्टिक आहार, रोगविरुद्दका अनेक नामका खोपहरु, बिरामि हुँदा औषधोपचार, चाडपर्वमा राम्रो लाउने र मिठो खान अवसर पाए ।

 

थिएन उ बेला बाहरुले भने अनुसार । बिहान उठेर गाईबस्तुको धन्दा, घाँस सोतर गरि, डाँडा, पाखा, खोला नाला पार गरेर, पुरानो लुगा र खालि खुट्टा विद्यालय जान पर्थ्यो भने विद्यालय बाट फर्किएर पनि हतारहतार उहि खेतिपाति र गाइबस्तुको सेवामा खट्नु पर्थ्यो । रातिमा पढ्न बिजुलि नहुने अनि दिनमा फुर्सद । २ निमेष खालि समय निस्कियो भने दाम्लो बाट्ने देखि नाम्लो बनाउने, चोया काढ्ने, डोका थुन्से बुन्ने , केतुके काट्ने, पाट बनाउने, गाई बाख्रा चराउन गोठालो जाने, घाँस सोतर गर्ने, पत्कर र सल्लेबिर सोहोर्ने, किला, खामा, खम्बा, डाँडा, छात्रा, भाटा, दाउरा काट्ने, खर बट्याउने यि र यस्तै काममा दिनरात फुर्सद मिल्दैनथियो । बर्खामा खेति लगाउने अनि हिउँदमा बालि थन्क्याउने र स्वाँरा अनि गोठ सार्नेकै चटारो हुन्थ्यो । अझै परिवारको जेठो सदस्यको रुपमा जन्मिएका बाहरुको झन ओभरटाइम ड्युटि हुन्थ्यो । बाआमालाई सघाउने अनि दुइ चार थान भाई बहिनिहरुको हेरचाह गर्ने । छुट्टिका दिनहरुमा मेलापात र पर्म लगाउन जानु पर्थो भने “आफनो खाइ अरुको पढ्न किन जानु” भनेर घरायसि कामबाट फुर्सद हुँदाको दिनमात्रै विद्यालय जाने अवसर जुर्थ्यो । आज जस्तो Facebook Tiktok चलाएर पढ्न नपाएका होइनन कि काम गरेर फुर्सद नभएको हो पिताजिहरुले भने अनुसार ।

 

हाम्रा बाहरु माटोमै हुर्किए, आँगनमा डन्डिबियो र हुतुतु खेले, करेसोमा कुदे, बारिको पाटा र खेतको गर्हामा लुकामारि खेले, मुस्किलले दुइछाक भात खाए, बासि भात र ढिँडो पोलेर खाँदा पनि पिजा भन्दा मिठो माने, पपकर्नको साटो भुटेको ठेट्ना मकै चपाए, ठेकिको महि पिए, हर्पेका घिउ खाए, दरमारा र कलब्रेक खेले, ढिकिमा कुटेको चिउरा सिध्याए, गाउँघरकै मनोरम, सफा पर्यावरणमा रमाए अनि दिनरात घट्ट, मिल, पानि पँधेरो, मेलापात, घाँस दाउरा, खेति पातिमा दुख गरे, नुन, तेल, मसला, लत्ता, कपडाको जोहो गरे, बाल बच्चा पढाए, दुखसुख चाडपर्व मनाए, खेत जोडे, बारि थपे, अनि सन्तानहरुको बिहे दान सम्पन्न गरे तर पनि बुडेसकालको सहारा, ढिकुरोको पुजारिलाई कहिल्यै दुखको भान सम्म हुन दिएनन । १० कक्षासम्म पुग्न नपाउँदै धेरै बाहरुको पढाई बिचमै रोकियो । कतिलाई पढ्न जाँगर चलेन, कतिलाई “हात्ति पढेर ठुलो भको होइन” भन्ने उखान बाट प्रेरणा मिल्यो, कतिले नपढे पनि बुढि पाइहालिन्छ, बिहे भैहाल्छ भन्ने महसुस गरे, कतिले शिक्षकको पिटाई खप्न सकेननन, कतिलाई विद्यालय जाँदा नुहाउन र दाँत माझ्नु पर्ने नियमले सार्हो पर्यो, कति बाहरुलाई केटि सम्म नदेखाइ बाका बाहरुले बिहे गरिदिए, कतिको आर्थिक अवस्थाले दिएन भने कतिका पिताहरुले पुत्र पढाइरहनुको प्रयोजन देखेनन ।

 

फलस्वरुप सबैको पढाइले निरन्तरता पाएन । पढेका बाहरुले जागिर खाए, बाठाटाठा भए, राजनिति गरे, पैसाको अनुहार देखे भने नपढेका बाहरुले दुख पाए, दुनिँया देखे । बिचमै बाटो बिराएका बाहरुले आफ्नै बाको सिको गरे । कतिले हलो कुटो कोदालो उचाले, बाख्रा थपे, हलगोरु ल्याए, कतिले अग्निश्थापना र श्राध्दका किताब समाते, अनि कतिले आरन सम्हाले, त कतिले बाकै कपडाको कलको सहारा लिए एवम कति ज्याला मजदुरि गर्न बाध्य भए । १५/१६ उमेर नपुग्दै अनि प्रेम के हो बुझ्न नपाउँदै र बिहेको बारेमा सोच्न नभ्याउँदै श्रिमान भए । लाज र सरममै श्रिमति स्विकारे । अनि आफ्नो र बच्चाको बारेमा कल्पना नगर्दै बा बने । जाने बुझेका बाहरुले २/३ सन्तान पछि बिश्राम लिए भने परिवार नियोजन को साधन र ग्यानको अभावमा कतिपय बाहरुले एकाध वर्ष विराएर ८/९ सन्तान पनि जन्माए । जति सन्तान भए पनि भोको राखेनन, नाङ्गो हुन दिएनन अनि शिक्षाको अवसरबाट बिमुख गराएनन भलै आफुले जति दुख पाउन । अचम्म लाग्छ ५/६ सन्तान कसरि हुर्काए होलान त्यो बेला २ सन्तान धान्न हम्मेहम्मे छ अचेल । बाहरुको कठोर परिश्रमबाट निरन्तर कर्तब्य पथमा लागिरहेन प्रेरणा मिलोस हामिलाई ।

 

सानै उमेरमा बिहेबारी पछि बाहरुबिचमा जेठो, कान्छो, बलियो र निर्धो बिचमा भेदभाव सहित बाक्लो दाल खाने नाममा छोटो समयमै छुट्टै राखिदिने चलन थियो । अंशबन्डामा कान्छोले रोज्न पाउँथ्यो भने जेठोले या सोझोले गैर्हि, टारि, पाखा बारि र कुलो माथिको खेतमा चित्त बुझाउन पर्थ्यो । कलिलो अपरिपक्व उमेर, कलिलै उमेरकि श्रिमति अनि दुधे बालक, बाठा टाठा बलिया बाँगा गाउँलेहरु, साँधको ढुँगा सार्ने सँधियार, घाँस सोतर चोर्ने छिमेकि, छोराछोरिलाई कुटपिट र थिचोमिचो गर्ने दाजुभाई आदि को ज्यादति र अनेक तरहका दुख र दानवि प्रविति विचको चुनौतिपुर्ण यात्रा कति पनि विचलित नभइकन पुरा गर्नुभयो तपाई हाम्रा बाहरुले । तर सबैका बा सम्मान गर्न लायक सज्जन नि हुँदैनन । आफ्नै छोरि या छोरि उमेरका माथि कुद्रिष्टि लगाउने देखि व्यभिचार गर्ने, वर्षैपिच्छे नयानया आमाहरु भित्र्याइरहने, कोहि दिनरात मदिरामा लठ्ठ भएर घर ब्यबहार लथालिँग पार्ने, छिमेकिलाई दुख दिएर चोरि चकारि मार्फत आफ्नो भकारि भर्ने लगायत विविध प्रकारका कुकृत्य गर्न सम्म पछी पर्दैनन कतिपय बाहरु । तर आफुमा जतिसुकै कमि कमजोरि भए पनि कुबाटोमा हिँडे पनि आफ्ना सन्तानहरु असल र अब्बल भएको हेर्न चाहन्छन ।

 

शत्रु भड्काएर आफ्ना उपर निरन्तर प्रहार गरिरहेपनि, श्रिमतिलाई टोकसिरहेपनि, अनेक तरहबाट दुख दिरहेपनि बाका खुट्टा ढोगिरहनुभयो हाम्रा बाले, आमालाई वचन लगाउनुभएन, विशाल हृदय बनाएर सबैलाई माफि दिनुभयो, न कहिले रिसाउनुभयो, न आततिनुभयो न मात्तिनु नै भयो । सोच्दा पनि कहालि लागेर आउँछ स्वजन बाटै गरिएका ति प्रहारहरु, ति असह्य धोका, अक्षम्य अपराध, र अमानविय कर्तुतहरुलाई बाले कसरि सहन गर्नुभयो होला। न कसैलाई अपशब्द बोल्नुभयो, न अन्याय र अत्याचार गर्नुभयो, समदृष्टि समभाव र पर द्रव्येषु लोष्टवत भनेर बाले सिकाएका अर्ति उपदेश अझै पनि यो मानसपटलमा ताजै छ ।

 

अझै कति बाहरुका भुकम्पमा घर भत्कियो, बाढिले खेत बगायो, पहिरोले घर कटेरो र बारि लग्यो, आगो लागेर मटान खरानि भयो, दुना भैँसिहरु थलैमा मरे, सन्तानहरु दैवले चूँडेर लग्यो तैपनि सहनुभयो चुपचाप । सिङ्गो इतिहास हुन जो जस्तासुकै दुख पिडा डटेर सामना गर्न सक्छन । नमन छ बा तपाइको स्वाभिमान, आत्मविश्वास र साहस लाई । तर सानामा बाका आफ्नै कठोर नियमहरु हुन्थे, त्यसैले बासँग रिस पनि उठ्थ्यो । धान चुट्दा चप्पल लगाउन नपाइने, मंसिरमा छाता ओढ्न नहुने, सिमसार क्षेत्र र पानिको मुहान नजिक पिसाब फेर्न नपाईने, दिनहुँ नुहाउनु पर्ने, ब्रतबन्ध नहुँदा सम्म अनि सफा कपडा बिना चुल्हो मा जान नहुने, दिसा पिसाब गर्न जाँदा जनै कानमा झुन्डाउन पर्ने, दसैँमा नयाँ कपडा को नाममा स्कुलकै पोसाक किनिदिने आदि । तर सँधै माया मात्रै गर्नुभएन उपद्रो गर्दा अनि अनुशासनबाट बिमुख हुँदा सिस्नु पानि लगाउनुभो, कान समातेर ऊचाल्नु भयो तर बाको रिस तत्क्षण नास हुन्थ्यो र पुर्ववरत स्नेह पनि गर्नुहुन्थ्यो ।

 

अचेलका आधुनिक बाका सन्तानहरुलाई अपवादमा राख्ने हो भने हामि कहिल्यै पनि बासँग आमा जति नजिक हुन सकेनौँ । एक अर्का प्रति अपार माया र अगाध स्नेह भए पनि केहि अदृश्य दुरि सदैव कायम रहिरहन्थ्यो । बा भनेपछि माया सँगै डर लाग्थ्यो आदर र सम्मान प्रकट गर्थ्योँ अचेल जस्तो हैन मुखमुखै लाग्ने र झगडा गर्ने । बासँग हमेसा एकै मात्र प्रश्न हुन्थ्यो बा आमा कता हुनुहुन्छ् । बिहान उठ्दा पिताजि कहिल्यै घरमा भेटिनुहुन्न थियो अनि साँझमा हामि निदाइसक्दा पनि फर्किनुहुन्नथियो । कहिल्यै मिठो खान पाइएन भन्नुभएन, आमालाई राम्रि भइनस, यो गरिनस त्यो गरिनस भन्नुभएन, आमाको अनुपस्थितिमा दायाँबायाँ गर्नुभएन, अनावश्यक समय खेर फाल्नुभएन तर मौका पर्दा कलब्रेक र कौडा हान्न चाँहि बाँकि राख्नुभएन, राम्रो र नया कपडा पर्व विशेष बाहेक फेर्नुभएन । बा हाम्रा हजुरबुवा हजुरआमाका तिनै सन्तान हुन जस्ले आफ्ना ईच्छा निमोठे, चाहनालाइ कुल्चिए, ऐष आरामलाई बिर्सिए अनि सदैव हाम्रै सुख र सफलतालाई आफ्नो अभिष्ट ठानेर अनवरत लागिरहनुभयो ।

 

यदाकदा बाहरु असिमित दुखबाट आजित भएर भन्ने गर्नुहुन्छ “मुलाको डोब मुलालेनै खन्छ”, “हात गोडा लगाइदियौँ अब गरेर खाइहाल्छन”, “सानो हुँदा मर्लान कि भन्ने डर ठुलो भएसि मार्लान कि भन्ने डर” तर सन्तानहरु बुढा भइसक्दा पनि बाआमाको मन छोराछोरि माथिनै हुदो रहेछ अत हातका ठेला, मुजा परेका निधार, चाउरिएका गाला, सेतै फुलेका कपाल, बुढो रोगि शरिर भैसक्दा पनि सन्तानकै सुखको लागि दुख गरिरहनुहुन्छ, चासो र चिन्ता गर्नुहुन्छ, सुझाव र सल्लाह दिनुहुन्छ, स्याबासि र गालि गर्नुहुन्छ, सन्तानको लागि जवानि र जिवननै समर्पण गर्नसक्ने बाहरु साँच्चैनै महान हुनुहुन्छ उहाहरुको हेरचाह गर्न कन्जुस्याईँ नगरौँ । सबै बाहरुमा सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना ।