२०७८ कार्तिक ४ , बिहिवार

आर्थिक समृद्धि अवको आवश्यकता: अग्रवाल

Vishnu_Kumar_Agrawal

विष्णुकुमार अग्रवाल-

नेपाल उद्योग परिसंघको १८औं साधारणसभाबाट अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भए । अग्रवालसँग परिसंघको यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष गरेर विगत डेढ दशकदेखि विभिन्न समितिको संयोजकका रूपमा रहेर काम गरेको अनुभव छ । नेपालका विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्थाका साथै अटोमोबाइल एमएडब्लू ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक, साथै नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत पनि हुन् ।
अग्रवालसँग विभिन्न विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सार:

नेपाल उद्योग परिसंघको अध्यक्षमा हालै मात्र निर्वाचित हुनुभएको छ । परिसंघलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?

कोभिड–१९ ले उद्योग–व्यवसायमा असर गरिरहेको छ । पछिल्लो समयको कोभिड–१९ को दोस्रो लहरले उद्योग–व्यवसायमा थप समस्या भोगिरहेको अवस्था छ, व्यापार व्यवसायमा मन्दी छ, यसको समाधानका लागि केही न केही प्याकेजका कार्यक्रम ल्याउनुपर्छ ।

 

कोभिडका कारण थलिएका उद्योग–व्यापारलाई माथि उकास्न निजी क्षेत्रका संघ–संगठनले पनि प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् भन्ने आरोप छ नि ?
मुलुकको स्रोतसाधनको सीमितताका कारण पनि राहतका प्याकेज ल्याउनका लागि  सीमा रहेको छ । स्रोत समाधान भएका बाहिरी मुलुकमा सरकारले बढी असर गरेको क्षेत्रलाई अनुदान पनि दिएका छन् । उनीहरूको स्रोतसाधनले भरिपूर्ण रहेकाले त्यो सम्भव भएको हो । नेपाल सरकारले आफ्नो बजेट तथा मौद्रिक नीतिबाट केही ब्याजदर कम गरेर राहत दिएको छ । रि–फाइनान्सिङ गरेर वा सामाजिक सुरक्षा कोष, विद्युत् शुल्कमा कमी गरेर वा डिमान्ड शुल्कमा सहुलियत दिएर पनि सरकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राहतको सुविधा दिएको छ । यसरी सरकारले दिएको राहत केही पूर्ण छैन होला, तर यो पटक सरकारले बजेटको विस्थापन गरेर ल्याउने कुरा गरिरहेको बेला विगतमा सम्बोधन नभएका उद्योगी–व्यवसायीको मागलाई सम्बोधन हुने विश्वास लिएका छौं ।

तपाईं अध्यक्ष हुँदै गर्दा देशमा सरकार पनि फेरिएको छ । कत्तिको आशावादी हुनुहुन्छ ?
वर्तमान समयमा गठन भएको सरकार चुनौतीपूर्ण गठन भएको छ । सरकारले ल्याएको नीति निर्देशनमा नै उद्योग–व्यवसाय सञ्चालन हुने भएकाले सरकारले गर्ने काम–कारबाही उद्योग–व्यवसायमैत्री हुनेमा हामी आशावादी रहेका छौं । कोभिड–१९ को कारण समस्यामा परेको उद्योग–व्यवसायको ग्रोथ रेट पनि एकदमै कम, अर्थतन्त्र पनि सुस्त अवस्थामा रहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले बजेट खर्च बढाउनुपर्छ, यो खर्चसँगै विकासका कामले गति लिन्छ, यसले अर्थतन्त्रमा माग सिर्जना गर्छ र यसरी उद्योग–व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्छ ।