२०७८ कार्तिक ४ , बिहिवार

कांग्रेसको क्रियाशील सदस्यताका विवाद टुंग्याउन छानविन समितिलाई थप २४ घण्टा

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको  पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।

रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५-१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए । प्रवक्ता शर्माका अनुसार समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुनेछ ।