२०७८ आश्विन १२ , मंगलबार

नेप्से नयाँ उचाईमा पुग्दा यी क्षेत्रका लगानिकर्ता उत्साहित

सुनाखरी न्युज/ काठमाडौं – सेयर बजार सूचक नेप्सेले बुधबार ३१ सय विन्दुलाई पार गरेर फर्किएको छ । इन्ट्रा डे कारोबारमा नेप्से ३११३ विन्दु आसपाससम्म पुगेको हो । नेप्सेको यो अंक अहिलेसम्मकै उच्च हो ।

 

तथापि, यो ऐतिहासिक विन्दुलाई छोएरपछि नेप्से ३१ सय विन्दुभन्दा मुनि नै आएर बसेको छ । ३१ सय विन्दुभन्दा तल आए पनि सूचक दोहोरो अंकले बढेको हो । उच्चतम अंकमा पुगेपछि अल्पकालीन कारोबारी हावी हुँदा केही बिक्री चाप परेको हो । बजार बुल रनमा छ । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजार माथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी चमक आएको छ । साउन–भदौमा अधिकांश वर्षहरुमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रुपमा पनि लिइन्छ ।

 

साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन् । त्यसपछि लाभांश घोषणा हुन थाल्छ । अनि, साधारण सभाको माहोल सुरु हुन्छ । कतिपय कम्पनीले दसैंअघि नै साधारण सभा गरेर लगानीकर्ताको खातामा लाभांश जम्मा गरिदिने गर्छन् । यसर्थ, अहिले सेयरधनी हुनेले निकै छोटो समयमा लाभांश हात पार्न सक्ने भएकाले पनि यतिबेला बजारमा बढी क्रेज हुने गरेको हो । सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया पनि हो । आम लगानीकर्ताले आफ्नो वित्तीय अवस्था, जोखिम बहन क्षमता, होल्ड गर्ने अवधि लगायतलाई ध्यान दिंदै अघि बढ्न जरुरी हुन्छ । सकेसम्म घटेका बेला किन्ने र बढ्दा बिक्री गर्ने रणनीति बनाउन सके लाभ लिन सजिलो हुन्छ ।

 

लगानी गरिएका कम्पनीको अवस्था, लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना लगायतलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । नेप्से सूचक १५.३० अंकले बढेर ३०९४.९४ विन्दुमा आइपुगेको छ । १३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १३ मध्ये ९ समूहको सूचक वृद्धि भएको छ । ३ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीसहित युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।