२०७८ आश्विन १२ , मंगलबार

कांग्रेसको वडा अधिवेशन स्थगित, क्रियाशील सदस्यता विवाद टुंगिएपछि अर्को मिति तोकिने

सुनाखरी न्युज/ काठमाडौँ —

नेपाली कांग्रेस पार्टीको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘बैठकमा साउन १२ गते सुरु हुने भनेर निर्धारित गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने सल्लाह परामर्श भएको छ । वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गतेदेखि हुने महाधिवेशन पनि स्थगन भन्ने होइन । महाधिवेशन र अन्य तहका अधिवेशन कायमै छन्,’ प्रवक्ता शर्माले भने ।

 

वडा तहको अधिवेशन स्थगित गर्नुको कारण भने जिल्लाहरूमा कोरोना संक्रमण बढ्नु रहेको प्रवक्ता शर्माको भनाइ थियो । जिल्ला-जिल्लाबाट कोरोनाको संक्रमण बढिरहेको र कतिपय ठाउँहरूमा समस्या रहेको भनेर पार्टी केन्द्रीय कार्यालयमा गुनासो आइरहेको उनले जानकारी दिए ।

वडा अधिवेशनको अर्को मिति भने क्रियाशील सदस्यता छानबिनको विवाद समाधान भएपछि तय हुने शर्माको भनाइ थियो । ुसाउन १२ गते मंगलबार बिहान ९ गते क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्ने भएको छ । प्रतिवेदन लिइसकेपछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित गर्छौं,ु उनले भने । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांस ठाउँमा सर्वसम्मतिले क्रियाशील सदस्यता चयन गरिएको बैठकमा जानकारी दिएको शर्माले बताए । सदस्यता छानबिन समितिले प्रतिवेदन दिएपछि केन्द्रीय समितिले टुंगो लगाउने र प्रभावित हुने अधिवेशनका मितिबारे निर्णय लिइने उनले बताए ।

 

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय भएको छ । वडा अधिवेशन आउन ३ दिन पहिला स्थगित गरिएको छ ।