२०७८ कार्तिक ४ , बिहिवार

लागूऔषध कोकिन र सुन जस्तो देखिने धातु सहित ४ जना पक्राउ

सुनाखरी न्युज / काठमाडौं – ५ सय ग्राम लागूऔषध कोकिन र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा गोरखा जिल्ला गोरखा नगरपालिका-६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका-४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ, गोरखा नगरपालिका-८ स्थायी ठेगाना भएका ४० वर्षीय रेशम बहादुर राना र आरुघाट गाउँपालिका-६ स्थायी ठेगाना भएका ३२ वर्षीय एकराज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित ‘तिब्बत पिस ईन’ होटलको १०४ नम्बर कोठाबाट मुकुन्द, मन र रेशमलाई उक्त कोकिन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

थप अनुसन्धानको क्रममा मन गुरुङको काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित डेराबाट ६ सय ३८ ग्राम र १ किलो ७ सय ७२ ग्राम गरी उक्त परिमाणको धातु बरामद भएको हो । साथै उक्त कारोबारमा संलग्न रहेको खुल्न आएपछि एकराजलाई समेत टोखा नगरपालिका-११ बाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर लागूऔषध कोकिन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।