२०७८ श्रावण १३ , बुधवार

राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको चेतावनी

Capture

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल राष्ट्र बैंकसहित पन्ध्र वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने धम्कीपुर्ण फोन र इमेल आएको पाइएको छ ।

 

बैंकका अधिकारीलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको इमेलमा पनि आएको बताइएको छ ।

 

अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी समेत आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । धम्कीपुर्ण जानकारीपछि राष्ट्र बैंकले बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन बैंकहरुलाई आग्रह गरेको छ । इमेलमार्फतको पत्र र टेलिफोन कलबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

 

ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डूको नाम उल्लेख छ । यसैगरी, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको पनि नाम समावेश गरिएको छ । इमेलमा ‘अफलाइन र अनलाइन’ दुवै तरिकाबाट पैसा चोरी गरिने उल्लेख छ । इमेलमार्फत ह्याकरहरुले २४ घण्टाको समय दिइएको बताइएको छ ।