२०७८ श्रावण १९ , मंगलबार

अपमान सहेर पार्टीभित्र नबस्ने नेपालको चेतावनी

madhav-kumar-nepal-1

सुनाखरी न्युज/ काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन ।

 

४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको भन्दै सहेर नबस्ने चेतावनी दिएका हुन । नेता नेपालले आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना नहुने तर अपमान सहेर, गलत कुरा सहेर बस्न नसकिने स्पष्ट पारे । नेता नेपालले अध्यक्ष ओलीतिर संकेत गर्दै अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताए । बरन्डामा ऊफ्रिने र बाँदर जुलुसको नाटक कम्युनिष्ट चरित्र नभएको उनको भनाइ छ ।

 

नेता नेपालले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुनेपनि स्पष्ट पारे ।कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुने बताउँदै उनले चुनौतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने पनि उल्लेख गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’को विमोचन गरेका थिए ।