२०७८ श्रावण १९ , मंगलबार

न सिट छ, न सामाजीक दुरी,जसरीनी परीक्षा दिनै पर्ने कस्तो मजबुरी ?

Capture

रोशनी पाठक – हामीजस्ता विद्यार्थीहरूले यो कोरोनाको बेलामा परीक्षा लिनु भनेको एक अवसर हो भन्ने सोचेका थियौँ । कोरोनाको महामारीका कारणले गर्दा धेरै समयदेखी रोकिएको परीक्षा हुन लाग्दा हर्षित बनेका हामीहरू अहिले निकैनै दोधारमा परेका छौँ । होम सेन्टर भन्दा काठमाडौं नजीक पर्ने अनि खान-बस्नका लागि आफ्नै ठाउँ भएकोले परीक्षा दिन काठमाडौं नै आउने निर्णय गरेँ । हुन पनि आफूलाई जता पायक पर्छ उतै परीक्षा दिने न हो ।

 

उत्साहित त थिए तर एकाएक परीक्षा दिन पाउने खुसी बिलायो । गाउँमा हुँदा घरबाट बाहिर निस्किन आनाकानी गर्ने अनि निस्की हालेपनि मास्क र सेनिटाइजर बोकेर हिँढ्ने म आजको यात्राबाट निकैनै चिन्तित छु । गाडी चढने ठाउँसम्म त जोगिएको छु भन्ने भान भइरहेको थियो तर जब बस चढे अब म सुरक्षित छु कि नाइ भन्ने डरले सताउन थाल्यो । बस चढेर हेर्दा बसभरी मान्छे खचाखच थियो अनि मैले “सिट छ त ?” भनेर सोध्दा यस्तै हो हजुर भन्यो । हुननी आधा घण्टा कुरेपछि बल्ल बस आएको थियो । अर्को बस आउन कति समय लाग्नी हो फेरी उस्तै खचाखच आउँछ कि भन्ने डरले त्यही बसमा चढ्न बाध्य भएँ । आखिर मलाई गन्तव्यसम्म जसरी पुग्नु थियो । मन अमिलो बनाउँदै रहरको शहरतिरको यात्रा सुरु गरे । बसमा चढेको केहि बेरमै भाडा माग्यो । मैले दुईजनाको पाँचसय दिए । खलासीले “भाडा त पुगेन नि हजुर ! एक जनाको चारसय हो भन्यो । के गर्नु घुस टन्नै दिनपर्छ नत्र बस काठमाडौं छिर्न दिदैन ।” अनि पैलाको भाडादर ११० मात्र थियो छहरेबाट काठमाडौं जाने अहिले बढी लिगे २५० लिग्ला भन्ने सोचेको थिए । एकैछिन त ट्वाँ परे । धेरैजना के हो यस्तो भन्दै थिए । मैले थपेँ ” न सिट छ, न सामाजीक दुरी छ यस्तो मान्छे कोचेर यसरी मनलाग्दी भाडा लिन पाइन्छ ?” आखिरमा जति कराएपनि दुईजनाको आठसय दिन बाध्य भएँ छहरे देखि काठमाडौं सम्मको कहालीलाग्दो यात्राको लागि ।

 

बस आफ्नो रफ्तारमा गुढ्दै थियो । खराब बाटो कति गाह्रो भयो उभिएर यात्रा गर्न त्यो त कुरै छोढ्नुस् एक दिन मात्र गाह्रो भएर के हुन्थ्यो र ? बसभित्र नि कोरोना थियो कि ? कोरोना विरुद्ध भ्यक्सिन अनि फेस शिल्ड गरेर मास्क त लगाएको थिए तर म सुरक्षीत छु भन्ने महसुस भने पटक्कै भएन । चेकिङ् बसेका आर्मी र प्रहरीले आफ्नो गोजी भरे अनि नरोकीकनै बस छिराए उपत्यका भित्र । निषेधाज्ञाको नियम उल्ङ्घन गर्दै नुवाकोटमा बसहरू संचालन भइरहेका छन् । बस संचालन भएको कारण हामीजस्ता विद्यार्थीहरू हर्षित भएका थियौँ । बर्षामासको बेला झन् छहरे-टोखाको बाटो निकै नै बिग्रीएको छ । बाइकमा ओहोर-दोहोर गर्न बाटो खराब अनि त्यस्तो बाटो भएर आउँदा एक-दुई दिन उठ्न बस्न नसक्ने भइन्छ । फेरी सबैको निजी सवारी साधन हुन्छ भन्ने पनि हैन । त्यसैले कुनै न कुनै रुपमा सार्वजनिक सवारी साधनको आवश्यकता त पर्छ नै तर बिडम्बना न त सरकारले लामो दूरीका सार्वजनिक यातायात संचालन अनुमति दिएको छ न त भाडादर निर्धारण गरेको छ । मौकामा चौका भनेको जस्तै महामारीको बेला बीचबिचमा चेकिङ बसेका आर्मी, प्रहरी घुस खाएर सवारी साधनलाई बिना रोकतोक छिर्न दिन्छन् अनि बसका सहचालकले भने मनलाग्दि भाडा उठाउँछन् । पैसाको मात्र कुरा थिएन , न बसभित्र सामाजिक दुरी छ , न कसैले मास्क लगाउँछन् उल्टै मरिमरी मान्छे कोच्छन् ।

 

परीक्षा त लिने भनियो तर परीक्षा सेन्टरसम्म विद्यार्थी कसरी पुग्ने कुनै टुङ्गो छैन । शान्ति सुरक्षा दिन बसेका महान आत्माहरू गोजी भर्छन् । थुक्क नेपालको गति । देश र जनतालाई कसरी सुरक्षित गर्ने त्यसको बारेमा कसैलाई चासो छैन । यदि हामी परीक्षा दिन आउँदा कोरोना लाग्यो भने कस्ले जिम्मा लिने ? कोरोनाकै कारण परीक्षा हलमा उपस्थित हुन नसके को जिम्मेवारी ? कोरोनाले हाम्रो ज्यान लग्यो भने कस्लाई भन्ने । अनि आफू सङ्क्रमित भएर आफ्नो परिवारलाई केही भयो भने को जिम्मेवार ? खोइ कोहि बोल्दैनन् त । नाजवाफ छन सबै । खबरदार यदि हामीकसैलाई केही भैहाल्यो भने हामी यसै छाडने वाला छैनौँ । अनि यस्तो विकराल परिस्थितिमा हामीलाई कोरोनासँग जुध्न बाध्य बनाउने सबै अपराधि हुन् । सत्तामा पुगेकाहरु पैसा त पायौ होला तर रोगले पक्कै छाड्ने छैन तिमीहरूलाई विचार गर !