२०७८ श्रावण १९ , मंगलबार

एमाले एकताकालागि नेपाल समूहको नयाँ सर्त, अध्यक्षबाट ओलीको राजीनामा

madhav-kumar-nepal-1

सुनाखरी न्युज/  काठमाडौँ —

एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग मंगलबार छलफल गरेका थिए । उक्त छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका हुन् । यसअघि नेपाल समूहले एकताका लागि ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने सर्त राख्दै आएको थियो ।

असार २८ मा सर्वोच्च अदालतले प्रतिनिसधसभा पुनस्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका थिए । ओलीले प्रधानमन्त्री पद गुमाएसँगै एमालेको नेपाल समूहले एकताका लागि पार्टी अध्यक्ष छाड्नुपर्ने सर्त सारेको हो । बैठकमा नेपालले भने ओलीका गतिविधि हेरेर सामूहिक रुपमा आवश्यक निर्णय लिइने बताएका थिए ।

देउवालाई विश्वासको मत दिएपछि आफूहरुको भूमिका के हुने भन्नेबारे पनि सामान्य छलफल भएको नेतृ रामकुमारी झाँक्रीले बताइन् । अर्का सांसद विरोध खतिवडाले अझै केही सांसद र केन्द्रीय सदस्यलाई आफ्नो समूहमा गोलबद्ध गरेर पार्टी संगठनमा बलियो उपस्थिति जनाउने विषयमा छलफल भएको बताए ।

उनका अनुसार बुधबारदेखि नेपाल समूहको आगामी कदमबारे निर्णायक छलफल हुने भएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्णयविपरीत देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । खतिवडाका अनुसार मंगलबारसम्म स्पष्टीकरण माग गरिएको पत्र पुगेको छैन ।