२०७८ श्रावण २१ , बिहिवार

माधव नेपालसँगको भेटपछि , मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

download

सुनाखरी न्युज / काठमाण्डौ – प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएको एक साता पुगेको छ । गत असार २९ गते उनले प्रधानमन्त्रीको सपथ लिइरहँदा ४ जनाको सानो मन्त्रिमण्डल गठन गरेका थिए ।

 

नयाँ मन्त्रिमण्डलको प्रस्ताव लिएर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका हुन् । मन्त्रिपरिषद् विस्तारको तयारी रहेका बेला शीर्ष नेताहरूले भेटघाटमा सक्रियता देखाइरहेका छन । बिहानको भेटमा प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन अनुरोध गरेको बताइएको छ । साथै उनले अब मन्त्रिपरिषद् विस्तार कसरी अघि बढाउने भन्ने विषयमा पनि नेपाल र यादवसँग छलफल गरेका छन् । अहिले प्रचण्ड प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नकै लागि बालुवाटार पुगेका छन् ।

 

मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुङ्गो लागिसकेको छैन । देउवालाई सबैभन्दा पहिला आफ्नै पार्टीभित्रको अर्को समूहलाई व्यवस्थापन गर्न सकस परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्ना तर्फबाट मन्त्री बनाउनुपर्ने भन्दै उपप्रधानमन्त्रीसहित ५ जनाको लिस्ट बुझाएको छ । जबकी देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधव नेपाल समूहलाई चित्त बुझाउनु पर्ने बाध्यात्मक अवस्था छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा मात्र सरकारमा सहभागी हुने भनिए पनि अहिले ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको हो । जसपाका ३२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

 

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा पहिले ठाकुर पक्ष सरकारमा सहभागी नहुने पक्षमा रहेको थियो । नेता नेपाल समूहले कुनै निर्णय नदिएपछि मन्त्रिमण्डल बिस्तार गर्न देउवालाई तगारो तेर्सिएको हो । उता महन्थ ठाकुर पक्षलाई सामेल गराउने कि नगराउने भन्नेबारे देउवा अझै अनिर्णित छन । ठाकुर पक्षका कतिपय सांसदहरू मन्त्री बन्न आतुर देखिएका छन् ।