२०७८ श्रावण ११ , सोमवार

मुलुकको अर्थतन्त्रलाई पुनर्स्थापित गर्न सरकार निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तयार : प्रधानमन्त्री

5

सुनाखरी न्युज / काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रलाई पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएका हुन् ।

 

‘अहिले अर्थतन्त्रमा चुनौतिहरु आएका छन्, यसलाई सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गर्न सकिन्छ’–उनले भने । उद्योग व्यवसायीहरुलाई कोभिड खोप दिने बारेमा सरकार सम्वेदनशील रहेको प्रधानमन्त्री देउवाले बताए । ‘निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुन्छ’–उनको भनाई थियो । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा आज प्रधानमन्त्री देउवा समक्ष भेटवार्ता गरिएको हो । उक्त अवसरमा अध्यक्ष मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा चेम्बरको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका हुन् ।

 

उक्त अवसरमा चेम्वर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गतवर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्न जाने हुँदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे ।

 

यसका अतिरिक्त चेम्वर अध्यक्ष मल्लले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने माग गरे । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवम् अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने उल्लेख गरे । बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने । निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्स लाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

 

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ,सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।