२०७८ श्रावण ११ , सोमवार

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित सीसीएमसीको अनुमति

board

सुनाखरी न्युज / काठमाण्डौ – कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

 

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति मागेको थियो । त्यसपछि मन्त्रालयले बोर्डको उक्त प्रस्तावलाई सीसीएमसी समक्ष पेश गरेको थियो । मन्त्रालयले गरेको पेशका आधारमा सीसीएमसीले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो । सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।

 

आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बताए ।

 

यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो । अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको बोर्डले यस वर्ष भने १०० पूर्णाङ्कको नै परीक्षा लिने तयारी गरिरहेको छ ।