२०७८ श्रावण १३ , बुधवार

बाग्लुङमा घरेलु रक्सी सेवनबाट चार मजदुरको मृत्यु

Capture

सुनाखरी न्युज/ बाग्लुङ – बाग्लुङमा घरेलु रक्सी सेवन गरेका चार जना मजदुरको गएराति मृत्यु भएको छ । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका चार जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ । मदिरा सेवन गरेर गम्भिर विरामी परेका छ जनामध्ये चार जनाको उपचारका लागि अस्पताल ल्याउदै गर्दा वाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सबै गलकोटस्थित बृहत खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन् ।

 

रोल्पा सुनिलस्मृति गाउँपालिका– ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ । मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका–७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी किनेर सेवन गरेका थिए । त्यसपछि उनीहरु विरामी परेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले पसल सञ्चालक भद्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।