२०७८ श्रावण १३ , बुधवार

साउन ६ गते सार्वजनिक बिदा, खोपका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

Cabinet

सुनाखरी न्युज/ काठमाडौं – सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

यस्तै बैठकले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन मित्र राष्ट्र, विदेशी दाता र कम्पनीलाई आग्रह पनि गरेको छ । सकभर अनुदानमा खोप दिन तथा नेपालले खरिद गर्ने खोपलाई पनि प्राथमिकतामा राख्न सरकारले आग्रह गरेको छ । उहाँले भन्नुभयो, ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ ।

 

साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रलाई आह्वान गर्दछ ।’ यस्तै मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।