२०७८ श्रावण १० , आइतवार

आज सोमबारदेखि काठमाडौं–दिल्ली सातामा ६ वटा उडान

NAC

सुनाखरी न्युज/ काठमाडौँ —

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–दिल्ली उडानको संख्या सातामा २ बाट ६ पुर्‍याएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार, प्राधिकरणले साउन ४ गतेदेखि भदौ १५ गतेसम्म दुई देशका वायुसेवालाई सातामा ६ वटा उडान गर्ने अनुमति दिएको हो । यी वायुसेवाले नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गराउदै सेवा दिनुपर्ने छ । अब नेपाल–भारत उडान बिहीबारबाहेक बाँकी ६ दिनै हुने छन् ।

प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले सोमबारदेखि लागू हुनेगरी नेपाल वायुसेवा निगम र भारतीय ध्वजाबाहक एयर इन्डियालाई सातामा ३-३ गरी ६ वटा उडान गर्ने अनुमति आइतबार जारी गरेका छन् ।

 

वैशाखमा कोरोना संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ देखि सातामा १४ वटा उडान हुँदै आएको काठमाडौं–दिल्ली सेक्टरमा दुइटा उडानमा सीमित गराएका थिए ।

 

 

अघिल्लो लकडाउनमा ०७७ चैतदेखि बन्द भएको नेपाल भारत उडान ०७८ पुसबाट मात्रै एयरबबल अवधारणा अन्तर्गत सञ्चालनमा ल्याइएको थियो ।

यो अवधारणा अन्तर्गत नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम र भारतको एयर इन्डियाले पुसदेखि दैनिक एक–एक उडान मात्रै गर्दै आएका थिए । लकडाउनको अवधिमा ८ महिना रोकिएको नेपाल–भारत उडानलाई दोस्रो लकडाउनमा मन्त्रिपरिषद्ले बन्दै नगरी सातामा दुइटा उडानमा खुम्च्याएको थियो ।