२०७८ श्रावण २१ , बिहिवार

देउवालाई विश्वासको मत दिनु २३ जना सांसदको कर्तव्य: झाँक्री

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु एमालेका २३ जना सांसदको कर्तव्य भएको एमाले सांसद रामकुमारी झाँक्रीले बताएकी छिन् । उनले ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै सो कुरा उल्लेख गरेकी हुन् ।

‘हामीले संविधानको धारा ७६ ९५० को प्रधानमन्त्रीको लागि प्रतिनिधिसभाका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौं । १ सय ४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १ सय ४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका हौं,’ झाँक्रीले लेखेकी छन्, ‘अदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।’

 

एमाले स्थायी कमिटीले भने देउवाको पक्षमा भोट हाल्ने सांसदहरू पार्टीमा नरहने निर्णय गरिसकेको छ । एमालेले देउवाको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न पनि निर्णय गरेको छ ।झाँक्रीले एमालेले संस्थागत निर्णय गरेर देउवालाई विश्वासको मत दिनुपर्ने पनि लेखेकी छन् ।