२०७८ मंसिर ११ , शनिवार

लायन्स टुरिजम सिटीको पदस्थापन सम्पन्न

सुनाखरी न्युज/  पोखरा – लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । लायन बर्ष २०२०–२१ का अध्यक्ष निरज पन्तले लायन बर्ष २०२१–२२ का अध्यक्ष एकराज गिरीलाई एक कार्यक्रमका विच पद हस्तान्तरण गरेका हुन् ।

 

कार्यक्रममा अघिल्लो वर्षका अध्यक्ष पन्तले गत वर्ष क्लबबाट गरिएको सामाजिक कार्यमा भएको प्रगति तथा समिक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष एकराज गिरीले कोभिडको संक्रमणका बेला सामाजिक क्लबहरुको दायित्व अझ बढि हुने बताए । उनले क्लबको दिगोपन तथा सामाजिक कार्यको दिर्घकालिन योजनाका लागि क्लबको कोष स्थापनाको घोषणा गरेका छन् । कोषमा यो वर्षमै रु ५ लाख जम्मा गर्ने लक्ष्य सहित अध्यक्ष गिरीले आफ्नो व्यक्तिगत तर्फबाट रु ५० हजार कोषका लागि हस्तान्तरण गर्नुभएको छ । उनले प्रभावकारी सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका एडभाइजर सुदिप पौडेलले शहरमा भन्दा गाउँ केन्द्रित कार्यक्रम गर्न सके मात्र लक्षित बर्ग सम्म पुग्न सकिने बताए । उनले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष विष्णुबाबु खड्का, तृतिय उपाध्यक्ष अर्जुन केसी, घनश्याम गौतम, पदम पाण्डे, दिपेन्द्र गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुजन श्रेष्ठ र सन्जय मल्लले गरेका थिए ।