२०७८ श्रावण १० , आइतवार

११ महिनामै भित्रियो ८ खर्ब ७० अर्ब रेमिटेन्स

NRB

सुनाखरी न्युज/ काठमाडौँ ।

चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३।२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई  सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१।१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई नौ खर्ब ७१ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।