२०७८ श्रावण १० , आइतवार

रेमिट्यान्स १२.६ प्रतिशतले वृद्धि, श्रम स्वीकृति लिने नेपालीको संख्या घट्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १२.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ९४ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

 

यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

 

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु ९७१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।