२०७८ श्रावण २१ , बिहिवार

माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैनः के पी ओली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । त्यसको अगुवाइ गरेको भन्दै उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे ।

नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् । ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आलोचना गरे । हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

समर्थकहरुलाई आफ्नो घरको बारदलीबाट सम्बोधन गरेका एमाले अध्यक्ष ओली आफूलाई प्रधानमन्त्रीबाट अकारण हटाइएको दाबी गरे ।