२०७८ श्रावण २१ , बिहिवार

कालीगण्डकी नदिको डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

सुनाखरी न्युज/ काठमाडौँ – सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव असर पर्नेगरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण डाइभर्सन गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने प्रकारका कुनैपनि काम नर्गन अन्तरिम आदेश दिएको हो । सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउने तयारी गरेसंगै वातावरण संरक्षणकर्मी कानुन व्यवसायीले कालीगण्डकी नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट दायर गरेका थिए ।

 

उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले यो रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम गर्न नगराउन अन्तरिम आदेश दिएको हो ।