२०७८ मंसिर ११ , शनिवार

बीथ्रीडब्लूको अन्तर्य : अझ, राम्रो विश्व निर्माण-२

विनोद न्यौपाने – बीथ्रीडब्लूमा जी–७ का सात राष्ट्रहरूसहित यस बैठकमा गणना नहुने गरी युरोपियन युनियनका प्रतिनिधि पनि सन् १९८१ देखि यस बैठकमा भाग लिन्छन् भन्ने यहाँ भुल्न हुँदैन । यसैमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को पनि अप्रत्यक्ष रूपमा सहभागी भएको देखिन्छ ।

 

यी संसारका विकसित मुलुकहरू अन्य मध्यम र गरिब मुलुकहरूको आर्थिक संरचना, राजनीति नचाउन सिपालु हुन्छन्, जुन विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, नाटो र संयुक्त राष्ट्र संघमा भएको आफ्नो पूर्ण शक्तिलाई उपयोग गर्छन् । युरोप र अमेरिकाबीच नीति भिन्नताहरूको बाबजुद पनि चीनविरुद्ध हङकङ, ताइवान, कोभिड अनि महत्वपूर्ण पूर्व र दक्षिण चीन समुद्रजस्ता विवादित मुद्दाहरूमा यिनीहरू एक भएका छन् । जी–७ राष्ट्रहरू चीनसँग मानव अधिकारका मुद्दा जस्तै : शिनजियाङमा उइघुरहरूको नजरबन्द विषयमा अनि चिनियाँहरूको प्रजातन्त्रबारे कुराहरू उठाइरहेको देखिन्छ ।

 

जी–७ को बैठकसँगै राजनीतिक तटस्थता झल्काउन अमेरिकी राष्ट्रपति बाइडेन र पुटिनले जेनेभा, स्विटजरल्यान्डमा भेट गरे । भू–राजनीतिमा बाइडेनका विज्ञहरू चीनको चुनौतीसँगै रूसलाई दोस्रो चुनौतीका रूपमा लिन्छन् । यहाँ बाइडेनले त्यसलाई कूटनीतिक रूपमा समाधान गर्न भूमिका निर्वाह गरेको देखिन्छ । खास गरी पुटिन र बाइडेनबीच साइबर सेक्युरिटी, वातावरण, विष खुलाइएका र जेल राखिएका असन्तुष्ट एलेक्सी नबलनीबारे कुराहरू भएको बाहिर ल्याएका छन् । यहाँ विचारणीय विषय भनेको विश्वको भू–राजनीतिमा र रूससँगको तनाव कम गरी चिनियाँहरूलाई एक्ल्याउने उद्देश्यमै यो बीथ्रीडब्लू कार्यक्रम रसवरीजस्तो जेलिएर बीआरआईको विपक्षमा आएको देखिन्छ ।

 

अर्को पाटो अध्ययन गर्दा यहाँ पुटिन र चिनियाँ राष्ट्रपतिको सम्बन्ध (रूस र चीनबीच) उच्चस्तरीय छद्म सम्बन्धजस्तो देखिन्छ, जहाँ साझेदारी मात्रै छैन । एसियाको सुरक्षार्थ प्रधान आधार धेरै हदसम्म घोषणात्मक-खुला चुनौती यी दुई मुलुकलाई छ । चीनको विकासको क्रममा तीन मोड– रसिया राष्ट्रपतिको छद्म गठबन्धन भनेर पावेल के. बाव लेख्छन् । बावको शब्द समाउँदा- दुई देशहरू भौगोलिक राजनीतिमा एक–अर्कासँग जोडिएका छन् । रूसले पश्चिमी रङ्गमञ्चमा टकरावलाई प्राथमिकता दिएको छ । चीनले पूर्वी एसियामा सुरक्षा विषय र अमेरिकासँगको व्यापार सम्बन्धमा केन्द्रित गरेको छ । वर्तमान अवस्थामा उदासीन रूपले चीनमा एकतर्फी रूसी निर्भरता रूपान्तरण भएको छ । मूलतः यही कुरो अमेरिकी राष्ट्रपति बाइडेनका विज्ञहरूले बुझेका छन् ।

 

बीथ्रीडब्लू योजनाबारे व्याख्या गर्दा राष्ट्रपति बाइडेनले मुख्य उद्देश्य ‘चीनसँग रणनीतिक प्रतिस्पर्धा र कम र मध्यम आय भएका देशहरूमा ठूलो पूर्वाधार आवश्यकता पूरा गर्न मद्दतका लागि ठोस कार्यहरूको प्रतिबद्धता’ हो भनेर राखे । यो कार्यक्रम एक्कासि आएको वा राष्ट्रपति बाइडेनले आफ्नै सोच र दृष्टिले अघि ल्याएको होइन । यो अमेरिकी उदारवाद र राजनीतिसँग जोडिन पुग्छ । विभिन्न मुलुकहरूमा सुनामी, प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व आदि पछि सांस्कृतिक विरासत पुनर्निर्माण, निरन्तरता, परिवर्तन र स्थिरताजस्ता विषयहरू अगाडिदेखि आइरहेका थिए । बिल्डिङ ब्याक वेटर-बिल्ड ब्याक वेटर (अझ राम्रो बनाउने, राम्रो निर्माण कार्य) वाक्यांश सन् २००४ मै हिन्द महासागर सुनामीले नीति निर्माता र विद्वान्हरूको शब्दकोशमा प्रवेश गरेको हो । पछि आएर दिगो विकासका लक्ष्यहरूमा पनि प्रविष्ट गरेको छ ।

 

‘अझ राम्रो बनाउने’ शब्द औपनिवेशिक सुरुवातसँगै राजनीतिक–अर्थशास्त्रमा आएको कुरो पनि भुल्न हुँदैन । किनकि ‘तिम्रो मुलुक, ठाउँ, संस्कार अझ राम्रो बनाइदिन्छौं’को नाममा उपनिवेश कायम गरिएको ऐतिहासिक भूगोल प्रस्ट छ । यहाँ गहिरो रूपले आएको हिजोभन्दा राम्रो, अझ राम्रोजस्ता शब्द वा यी विभिन्न आह्वानहरूमा लुकेका सम्भवतः ‘अझ राम्रो’ को अर्थ के हो र यसलाई कसरी प्राप्त गर्ने भन्नेबारेमा भिन्न दृष्टिकोणहरू छन् यसैभित्र । ती सबै रेसा–रेसा केलाइनुपर्छ । यो बीथ्रीडब्लू योजना–एसडीजी, संयुक्त राष्ट्रसंघ, अमेरिकी सहयोग, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष आदि सबैतिर जोडिएको देखिन्छ । केही वर्षअगाडि आएको सुनामी तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव साथै अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनका दूतले सुनामीबाट भएको क्षतिको पुनर्निर्माणका लागि रिपोर्ट प्रकाशित गरे, जसमा पुनर्निर्माण, निरन्तरता, परिवर्तन र स्थिरताबारे उल्लेख गरेका छन् । अझ राम्रो विश्व जन्मिँदै हुर्किंदै आएको देखिन्छ । हाल आएर कोभिड–१९ महामारी संसारभर थपिन पुगेको छ, जुन सङ्कट सामान्य रूपमा फर्कने अवस्थामा देखिँदैन । बीथ्रीडब्लू : आर्थिक, सामाजिक जीवनमा सुधारका लागि, अधिक समावेशी, लचिलो र वातावरणमैत्री परिणामहरूतिर लगानीहरू गर्न डो¥याएको कार्यक्रम देखिन्छ । हाम्रा अल्पकालिक राहत उपायहरू र दीर्घकालीन विकास आकांक्षाहरूलाई जोड्न सक्छ भनेर बीथ्रीडब्लूलाई औँल्याइएको छ ।

 

हामीसँग बीथ्रीडब्लू जोडिँदा हाम्रो छिमेकी चीनसँगका सम्बन्धहरू अन्य जोडिएका मुद्दाहरू जस्तै ः तिब्बत र हामीले हस्ताक्षर गरेको बीआरआई अनि यस क्षेत्रको भू–राजनीतिक विषयहरू हामीसँग आइ नै पुग्छन् । हामी विकसित मुलुकहरूको सहयोगमा भूकम्पभन्दा अगाडिदेखि नै ‘पुनप्र्राप्ति, पुनरुद्धार र पुनर्निर्माण’ गरिरहेका छौं । विश्वमा भू राजनीतिक दाउपेचमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोना भाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आउँदै छ । बीथ्रीडब्लूको मुख्य साझेदारको हैसियतले अमेरिकाले आफ्ना विकास वित्त संस्था र उपकरणहरूलाई परिचालन गर्ने नै छ । जसमा विकास वित्त निगम, यूएसएआईडी, एक्जिम, एमसीसी, अमेरिकी व्यापार तथा विकास एजेन्सी र अन्य अमेरिकी निकायहरू आदि । यसमा ह्वाइट हाउस प्रस्ट बोलेकै छ, उसको उद्देश्यहरूमा अमेरिकी रोजगार योजनामा घरेलु पूर्वाधार लगानीहरूको पूरक गराउनु । विदेशमा अमेरिकाको प्रतिस्पर्धा प्रदर्शन गर्नु र घरमा रोजगारी सिर्जना गर्न नयाँ अवसरहरू सिर्जना गर्नु हो । यसरी अमेरिकी स्वार्थ, आशय र उद्देश्य प्रस्ट देखाएकै अवस्था छ । मूलतः भू–राजनीतिक हिसाबले पश्चिमाहरूको आँखाले हेर्दा हाम्रो क्षेत्रमा भइरहेको आर्थिक बहाव र आर्थिक क्षेत्रका विकास रोक्नु भन्ने नै देखिन्छ । कतै हिजो, नवौँ–दसौँ शताब्दीको जस्तो स्थिति नआओस्, जसरी हुन्छ यो आर्थिक प्रगतिको विकास भविष्यका लागि रोक्नु दीर्घकालीन सोच रहेको पश्चिमा मुलुकहरूको देखिन्छ ।

 

 

यी सबै गर्न अमेरिकी प्रशासनले बीथ्रीडब्लूका मार्ग निर्देशन सिद्धान्तहरूको पूर्ण समर्थन गर्ने जनाएको छ । त्यसभित्र मूल्य र मान्यतामा परिचालित रहेर आर्थिक, वातावरणीय र सामाजिक हिसाबले मध्यम र गरिब मुलुकहरूका पूर्वाधार आवश्यकताहरू पूरा गर्न सकारात्मक दृष्टि, दिगो, पारदर्शी स्रोतको प्रस्ताव गर्ने कुरा अघि सारेको छ । दोस्रो, सुशासन र स्तरीय मानकहरूको पालना गर्दै जलवायु परिवर्तन, स्थानीय अर्थव्यवस्थालाई पुनः निर्माण गर्ने, रोजगारी बढाउने, मध्यम र गरिब मुलुकका नागरिकहरूलाई दीर्घकालीन लाभहरू प्रदान गर्ने । जसमा, नीलो डट नेटवर्क (विश्वव्यापी पूर्वाधार विकास परियोजनाहरूको मूल्याङ्कन र प्रमाणीकरण प्रदान गर्ने) द्वारा बढावा गर्ने राखिएको छ । यी सबै उच्च मापदण्ड र सिद्धान्तहरूमार्फत निर्देशित हुनेछन् भनेर लेखिएको देखिन्छ । तेस्रो, पेरिस जलवायु सम्झौताको लक्ष्य प्राप्त गर्न वातावरणमैत्री बनाउने, चौथो, कडा रणनीतिक साझेदारी गर्न जी–७ मा कार्यदल गठन गर्ने उल्लिखित गरिएको छ । त्यसरी नै जी–७ को यो आयोजनामा पाँचौं, पूर्वाधार आवश्यकताहरूलाई सम्बोधन गर्न निजी पुँजीमा उल्लेखनीय वृद्धि गर्न र उत्प्रेरणाका लागि विकास गर्न निजी पुँजी परिचालन विकास वित्तीय संस्थाहरूमार्फत गर्ने राखिएको छ भने अन्त्यमा बहुपक्षीय सार्वजनिक वित्तको प्रभाव बढाउँदै लैजाने राखिएको छ । बहुपक्षीय विकास बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईएफआई) लाई परियोजना, कार्यान्वयन, सामाजिक र वातावरणीय सुरक्षा र विश्लेषणात्मक क्षमताका लागि कडा मापदण्डहरू तयार गर्ने गरी राखेको देखिन्छ ।

 

यी माथिका विषयहरू अध्ययन गर्दा चिनियाँको ( बीआरआई र जी–७ को) बीथ्रीडब्लूको मध्यम र गरिब मुलुकमा राम्रो हानथाप हुने देखिन्छ÷देखिनेछ । बीआरआई धेरै सफ्ट पावरमा आधारित नभए पनि बीथ्रीडब्लू मध्यम र गरिब मुलुकहरूको ग्रास रुट तहकै अर्थ राजनीति, लैङ्गिक भेदभाव, सामाजिक विखण्डन र अस्थिरतामा खेल्ने खेल मैदान हुने देखिन्छ । हाम्रो जस्तो दुई सभ्यतासँग जोडिएको मुलुक र बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिकलगायत विविधता भएको मुलुकले बीथ्रीडब्लूजस्ता आयोजनामा काम गर्दा विस्तृत परियोजना छलफलमा ल्याई, अध्ययन गरी मात्रै अगाडि जानु पर्ने देखिन्छ । सुन्दा सामान्य लाग्ने, व्यावहारिक शब्दहरू अनि त्यसले ल्याएका कार्यक्रमहरू हामी केलाउने कार्य गर्दैनौं दिने पैसोलाई मात्रै हेर्छौं । यो गलत पद्धति हामीसँग बसिसकेको छ । यो हाम्रो गरिबीभन्दा पनि अनुदान, मागी खाने र अन्त्यमा ऋण खोज्ने बानीबेहोरा र लत, सेतो छाला देख्नासाथ विज्ञ देख्ने बौद्धिकताले गाँजेको छ । यो सबै हामीले हाम्रो भूगोलमा बसेर सुधार्नु जरुरी छ । हामी धेरै आन्तरिक राजनीतिक मुद्दामा सधैँ अल्झिरहेका हुन्छौं ।

 

यसैले राम्रो योजना, साझेदारीमा निकाल्न सक्ने वा ऋणमै आफैं सञ्चालन गरेर रोजगारी र उत्पादन गर्न सक्ने हाम्रो सरकारको सामथ्र्य नभएकाले बीआरआर्ईमा पनि सन् २०१५ देखि हालसम्म कुनै कार्य उत्पादनमूलक गर्न सकेनौं । हामीले आफूलाई पुनर्मूल्यांकन गर्न जरुरी छ । आज हामी कोरोनाविरुद्ध भ्याक्सिन नपाएको अवस्थामा छौं । आर्थिक संकटले हामीलाई गाँजेको छ, गरिबीको चपेटामा कोरोनाले लगेको छ । सुरक्षित रहन हामीसँग भ्याक्सिन छैन । यो अवस्थामा विकसित मुलुकहरू र चीन भ्याक्सिनसहितको बीआरआई भन्न थालिसकेको छ भने यो बीथ्रीडब्लू पनि त्यसतर्फ आकर्षित छ । यहाँ पहुँच हुनेले मात्रै भ्याक्सिन पाउने; भ्याक्सिन कूटनीति सुरु भइसकेको अवस्थामा विश्व देखिन्छ ।

(लेखक ‘संघीयताको अर्थ–राजनीति’ पुस्तकका लेखक हुन् ।)