२०७८ श्रावण १० , आइतवार

देउवाले सानो मन्त्रिमण्डल बनाउने, सपथकालागि तयार रहन राष्टपति कार्यालयले पठायो सूचना

Nepali Congress President Sher Bahadur Deuba arrives at TIA

सुनाखी न्युज/ काठमाडौं-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।

शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएको सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला काँग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए ।

काँग्रेस नेता खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्‍याउनेलाई धन्यवाद पनि दिएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए ।

नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेश सँगै नयाँ परिस्थिति सृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको जानकारी दिए ।

उनले भने “एकलौटी ढङ्गले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूसँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढङ्गले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र सङ्घीयताको रक्षाका लागि दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ । ‘

जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।

विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । कोटेश्वर​मा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसद्को रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्त्वपूर्ण भएको भन्दै स्वागत गरेको छ ।