२०७८ श्रावण १० , आइतवार

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

arrest

सुनाखरी न्युज/  बिराटनगर – १ नम्बर प्रदेशका झापा, ईलाम र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।

 

सुनसरीको ईटहरी उप-महानगरपालिका-४ क्षितिज मार्गमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम म्याङलुङ ६ घर भई हाल ईटहरी उपमहानगरपालिका-४ बस्ने ३४ बर्षीय दुर्गा रसाईलीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

 

रसाईलीको साथबाट प्रहरीले ५३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, मोवायल सेट ३ थान र नगद ९८ हजार १ सय ७५ बरामद गरेको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आईतवार राती ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय रियाज अन्सारी र शिवसताक्षी नगरपालिका-४ का २१ बर्षीय संजय प्रधानलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

 

निजहरुको साथबाट प्रहरीले ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद रुपैयाँ १३ हजार, मोवायल ४ थान र निजहरुले प्रयोग गरेको को ७ प ४९०७ नम्बरको मोटरसाईकल समेत बरामद छ । यस्तै ईलामको चुलाचुली गाउँपालिका-५ का २९ बर्षीय प्रसाद लिम्बु नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । आईतवार राती १० बजेको समयमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले ३३० मिलिग्राम लागुऔषध ब्राउनसगुर र नगद २० हजार २१० सहित लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।