२०७८ श्रावण १९ , मंगलबार

निर्वाचन आयोगको निर्णयः माओवादी केन्द्र वैधानिक

Election_Commission

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आयोगको आइतबार बसेको  बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘‍‍‍‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको निर्णयमा भनिएको छ ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो ।

आयोगले माओवादी केन्द्र संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाउन नमिल्ने ठहर गरेको छ ।