२०७८ आश्विन १२ , मंगलबार

पशुपतिमा राखिएको सुनको जलहरी खरीदबारे अख्तियारले थाल्यो छानबिन

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपतिमा राखिएको सुनको जलहरी खरीद प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । गत फागुन ११ गते विरोधका बीच पशुपतिमा राखिएको सुनको जलहरी खरीद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन शुरु गरेको अख्तियार स्रोतले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पनि जलहरी खरीद प्रक्रियामा अख्तियारले चासो देखाएको स्वीकार गरेका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष समेत रहेका स्थानीय नरोत्तम वैद्यले हतारमा राखेको सुनको जलहरीमा क्षति पुग्दा मूलभट्टलाई क्षति समेत पुगेको भन्ने जानकारी आफूलाई आएको बताए । आफ्नो कमजोरी छोप्न कोषले कोभिडका कारण मन्दिर बन्द भएको बेला रातारात मर्मत गर्ने तयारी गरेको आरोप वैद्यले लगाए ।

कोेषका सदस्य सचिव डा. ढकाल जलहरीमा क्षति भएको विषयमा सत्यता नरहेको बताउँछन् । डा. ढकाल भन्छन्, ‘बेरिएको जलहरीलाई सुनकै किलाले जोड्न बाँकी थियो, त्यसैलाई क्षति पुगेको भन्नु भएको होला । जलहरी च्यातिएको वा यसमा क्षति पुगेको कुरामा सत्यता छैन ।’

मन्दिरको नियम अनुसार मन्दिरभित्र भट्ट र भण्डारीबाहेक अरु जान नमिल्ने र सहयोगका लागि पनि भण्डारीहरु नै जानुपर्नेमा मूल भण्डारीलाई सूतक परेकाले सुनको किला ठोक्ने काम केही पछि सरेको ढकालले बताए ।

केन्द्र सरकारको ३० करोडसहित एक अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । जुन अहिले विचाराधीन छ ।

वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर फागुन ११ गते रिट निवेदन दायर गरेका हुन् ।