२०७८ श्रावण १० , आइतवार

अमेरिकाले नेपाललाई १५ लाख डोज ‘जोन्सन एन्ड जोन्सन’ खोप सहयोग गर्ने

Corona Jonson

सुनाखरी न्युज/ काठमाडौँ —

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्न लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिइन् । ‘उक्त खोपको थप विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् । उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताइन् ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम अघि बढ्न सकेको छैन ।

उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्ने बारेमा भने अहिले नै पूर्ण जानकारी आइनसकेको दूतावासले जनाएको छ । यसअघि नेपालले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो ।

 

अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो । तर, नेपालले अमेरिकाले वाचा गरेको खोप हालसम्म प्राप्त गरेको छैन ।