२०७८ श्रावण १३ , बुधवार

एमाले कार्यदल बैठक स्थगित, साँझ पुन: बस्ने

5

सुनाखरी न्युज/ काठमाडौँ – एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । दिँउसो साढे १२ बजे अर्थ मन्त्रालयमा बोलाइएको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित गरिएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

 

बिहीबार दिउँसो तय भएको बैठक विवाद निष्कर्षमा पुर्‍याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको नेम्वाङले जानकारी दिए । उनले भने, ‘कार्यदलको अहिलेको बैठक सात बजेसम्म स्थगित गरिएको छ । सकभर आज निष्कर्षमा पुर्‍याउने तयारी छ ।’ एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो । त्यसका लागि नेताहरूबीच निरन्तर छलफल जारी रहेको उनले बताए । विवादलाई सहमतिको निष्कर्षमा पुर्‍याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बजे बस्ने नेम्वाङले बताए ।

 

छलफल सकारात्मक भइरहेको नेम्पाङले बताए । उनले वार्ता सकारात्मक भएकाले नै छलफलमा बसिरहेको बताए । ‘७ बजे टुंग्याउने गरेर बस्छौं । जे भइरहेको छ ठीक भइरहेको छ । यसलाई निष्कर्षयमा पुर्‍याउने तयारीमा रहेका छौं,’ उनले भने । एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । भेटका क्रममा दुवैले आ-आफ्नो अडान राखेका थिए । यसबीच एमालेको विवाद समाधान कार्यदल क्रियाशील रहेको थियो । यो कार्यदल विवाद समाधाननजिक पुगेको दाबी गरिएको छ ।