२०७८ श्रावण २१ , बिहिवार

यी प्रदेशका नदीहरूमा आज पानीको सतह बढ्न सक्ने, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

badi

सुनाखरी न्युज/ काठमाडौँ – आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ ।आज राति देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ ।अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

 

त्यस्तै शनिबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । महाशाखाले आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षा र अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । पहाडी भू–भागमा बाढी–पहिरो तथा गेग्रान बहावका साथै नदीहरूमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।