२०७८ श्रावण १० , आइतवार

जसपा विवाद निरुपण गर्न ५ सदस्यीय इजलास, ३ साउनदेखि सुनुवाइ हुने

Jasapa

सुनाखरी न्युज/ काठमाडौं-

जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा अन्य चार आयुक्तहरु ईश्वरी प्रसाद पौडेल,रामप्रसाद भण्डारी,जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा सम्मिलित पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवाद निरुपण गर्न आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु हुनेछ ।

 

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

सो ऐनअनुसार दुबै पक्षलाई बोलाएर आयोगले मंगलबार सहमति जुटाउने प्रयास गरेको थियो । तर उक्त प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हो । मेलमिलापका लागि मंगलबार आयोग पुगेका जसपाका उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष मिलाप असम्भव भएकाले ‘डिभोर्स’ गर्न तयार भएको बताएका थिए ।

 

सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आयोगले जसपाका दुवै पक्षलाई कानुन व्यवसायी राख्ने भए साथै ल्याउन समेत भनेको छ ।