२०७८ श्रावण ११ , सोमवार

हिमालय एअरलाइन्सको टिकट अनलाइनबाटै बुक गर्न सकिने

A 319

सुनाखरी न्युज/ काठमाडौं – नेपाल–चीन संयुक्त लगानीको एक निजी एअरलाइन्स्, हिमालय एअरलाइन्सले हालै आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । जसबाट ग्राहकहरूले आफ्नो डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्सको वेबसाइटबाट बुकिङ गर्न सक्नेछन् । यसले ग्राहकहरुलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ ।

 

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएप्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्ने छन् । एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाएको छ ।

 

नयाँ वेबसाइट सुरूवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङ्ले भने, “हाम्रा ग्राहकहरू हामीले गर्ने सबै कामका केन्द्र हुन्, र हामी उहाँहरूलाई बढी भन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौं । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । यो वेबसाइट हिमालयको निरन्तर अविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्घताको परिणाम हो । वास्तवमा हामी यस प्लेटफर्मलाई तयार गर्न लकडाउनको अवधि प्रयोग गरिरहेका थियौं र अहिलेको कोभिड–१९ महामारीलाई मध्येनजर गर्दै हामी हाम्रा यात्रुहरूको भौतिक सम्पर्करहित बुकिङ्ग र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौं ।”

 

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धी हो । हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्ग अनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुङ्गा साबित हुनेछ । ”