२०७८ श्रावण १० , आइतवार

के सन्देश दिए विश्वका नेतालाई भेला पारेर चिनियाँ राष्ट्रपतिले ?

Xinzing-ping

सुनाखरी न्युज/ काठमाडौं-

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपालसहित विश्वका ५०० सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधीहरुलाई भेला पारेर मंगलबार एक शिखर सम्मेलनको आयोजना गर्‍यो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका छन् ।

दर्जनौ मुलुकमा क्रियासिल ५०० भन्दा बढी साना र ठूला राजनीतिक दलहरुसँग सामूहिक छलफल गरेर चिनियाँ कम्युनिष्ट पार्टीले जुनसुकै विचार र दर्शन बोक्ने राजनीतिक दल र संस्थासँग अझ प्रगाढ सम्बन्ध बनाउन चाहेको सन्देश दिएको छ ।

यस अगाडि सन् २०१७ मा सिपिसीले विभिन्न देशका राजनीतिक दलका नेताहरुसँग उच्चस्तरका छलफल गरेको थियो र अहिलेको सम्मेलनलाई त्यसैको विस्तारित रुप भनिएको छ । कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय वैधता स्थापित गर्ने एक प्रयास भएको विश्लेषकहरु बताउँछन् । हिजोको सम्बोधनमार्फत सिले संसारका राजनीतिक दललाई निश्चित सन्देश दिन खोजेको देखिन्छ ।

 

सिपिसिले आफूलाई संसारकै सबैभन्दा ठूलो दलको रुपमा प्रस्तुत गर्दै आएको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट संसारभरका राजनीतिक दलहरुसँग भाइचाराको सम्बन्ध विकास गदै गएको छ, र उनीहरुसँगको संवाद र सम्पर्कमा चीनले आफूले अपनाएको विकास र शासकीय ढाँचाबारे जानकारी गराउँदै आएको छ ।

त्यसैगरी विभिन्न देशका चिनियाँ परियोजनाहरुको विषयलाई लिएर विभिन्न देशमा राजनीतिक दलहरुको विचमा विभाजन आइरहेको समयमा उसले कुनै पनि देशमा रहेका सबै राजनीतिक दलहरुसँग सम्बन्ध सुधारको नीति लिएको हो ।

अहिलेसम्म चीनले संसारभरका ५६० भन्दा बढी राजनीतिक दलहरुसँग भाइचाराको सम्बन्ध स्थापना गरेको छ र उनीहरुसँग निरन्तर संवाद र सम्पर्क गरिरहेको छ । आफ्ना एजेण्डा र विकास परियोजनालाई लिएर राजनीतिक दलहरुको बीचमा कुनै पनि विवाद नहोस भन्नका लागि उसले सो नीति लिएको विश्लेषकहरु बताउँछन् ।