२०७८ श्रावण १० , आइतवार

भोलि प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक हुने

3

सुनाखरी न्युज/ काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्नुहुने भएको छ ।

 

मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगार्ईंका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको छ । प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ । चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिनुभएको छ ।

 

सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।