२०७८ श्रावण १० , आइतवार

सप्तकोशीका ३० वटा ढोका खोलिए, पानीको वहाव वर्षकै उच्च

Saptakoshi

सुनाखरी न्युज/ विराटनगर ।

सप्तकोसी नदीमा निरन्तरको वर्षाका कारण  पानीको बहाव यो वर्षकै उच्च भएको छ । शनिबार दिउँसो पानीको बहाव वहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो ।

हिमाली र पहाडी क्षेत्रमा भएको वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन हुन्छ ।

बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरेको उनले बताए ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार  पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यसवर्षकै उच्च मापन भएको छ ।