२०७८ श्रावण १० , आइतवार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, सकियो प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस

SC

सुनाखरी न्युज/ काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकिएपछि आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

 

रिट निवेदकका तर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्रीका २१ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु अग्नि खरेल, सुशील पन्त, सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए । अब आइतबार विघटन मुद्दाका विपक्षी सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

 

उनीहरूका लागि २ घण्टा समय छुट्याइएको छ । त्यसपछि निवेदकका कानुन व्यवसायीले ३ घण्टा प्रत्युत्तर बहस गर्नेछन् । त्यस्तै एमीकस क्युरीमा रहेका ४ सदस्यले अन्तिममा आफ्नो राय दिनेछन् । उनीहरूका लागि ३०-३० मिनेट गरी २ घण्टा समय छुट्याइएको छ ।