२०७८ श्रावण १३ , बुधवार

राष्ट्र बैंक बाट नबिल बैंकले पायो युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

Capture

सुनाखरी न्युज/ काठमाडौं – युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । दुवै कम्पनीको असार ५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरे बमोजिम १ः०.३५ को शेयर स्वाप अनुपातमा प्राप्ति गर्न राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

 

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने सेयर धनीहरूले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् । एनसीसी बैंक र नेपाल बङ्गलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिलले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न लागेको हो । हाल नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपियाँ रहेको छ भने युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपियाँ छ । प्राप्ति पश्चात् नबिलको चुक्तापूँजी १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार रुपियाँ पुग्नेछ ।

 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रुपियाँ रहेको छ । नबिलले यस वर्ष ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपियाँ खुद नाफा गरेको छ । रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम १७ अर्ब ५२ करोड ६८ लाख ३० हजार रुपियाँ रहेको छ । यस वर्ष २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार रुपियाँ निक्षेप संकलन गरेको नबिलले १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४० रुपियाँ रहेको छ । त्यस्तै, तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा ४ करोड ७३ लाख ५४ हजार रुपयाँरहेको छ ।

 

उक्त अवधिसम्म यस कम्पनीले ८ करोड १६ लाख ५९ हजार रुपियाँ खुद नाफा गरेको छ । युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अनिङ्ग १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ २९ करोड ३६ लाख ३९ हजार रुपियाँ रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रुपयाँरहेको छ । प्रतिशेयर आम्दानी १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्क १५९ दशमलव ४९ रुपियाँ रहेको छ ।