२०७८ श्रावण १० , आइतवार

बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने

3

सुनाखरी न्युज/ काठमाडौं – सरकारले भोलि बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।

 

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो। योसँगै भोलिबाट सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।

 

सामान्य संक्रमितको उपचार गरेबापत ३ हजार ५००, अक्सिजनसहितका संक्रमितको ७ हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो। अब यसअघि सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने सूचनामा उल्लेख छ। निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन पनि सरकारले निर्देशन दिएको छ।